थाहा भएरपनि समयमा गदैनन् जन्मदर्ता – Nagarikabhiyan : National News

थाहा भएरपनि समयमा गदैनन् जन्मदर्ता

इनरुवा ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ की सजिना खातुनले आफ्नो छोरा जन्मेको चौथौ वर्ष पुरा भएपनि मंगलबार वडा कार्यालयमा छोराको जन्मदर्ता गराउनु आउनुभयो । वहाँले छोरा जन्मेको ३५ दिन भित्र जन्मदर्ता बनाउदाँ पैसा लाग्दैन भनेर राम्ररी थाहा भएर पनि घरमा काम गर्ने र घर रुगने मानिस नभएकाले ठिलो गरी जन्मदर्ता बनाउन आएको सुनाउनुभयो ।

जानकारी भएर पनि समयमा जन्मदर्ता छोराछोरीको नगराई मंगलवार मात्रै तीन सय रुपियाँ बिलम्ब शुल्क तिरेर जन्मदर्ता बनाएको खातुनले बताउनुभयो । खातुनले आफूलाई निःशुल्क रुपमा जन्मदर्ता बनाउनुपर्ने कुरा थाहा भएपनि आफ्नै कमजोरीले बिलम्ब शुल्क तिरेर जन्मदर्ता बनाउन बाध्य भएको सुनाउनुभयो । यहाँका खातु मात्रै होईन धेरैले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता नबनाएको पाइएको छ ।

जन्मदर्ता ३५ दिनभित्र बनाए कुनै पनि जरिवाना नलाग्ने वा निशुल्क रुपमा सेवा पाउने भएपनि अधिकांश स्थानीयले थाहा पाएरपनि समयमा जन्मदर्ता नबनाएको पाइएको छ । मंगलवार मात्रै भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ६ मा चार जनाले बिलम्ब गरी जन्मदर्ता गराउन आएको बेला उनीहरुले समयमा जन्म दर्ता गराउँदा जरिवाना नलाग्ने बुझेर पनि समयमा नगराएको पाइएको छ ।

जन्मदर्ता गराउन आएका अभिभावकहरुले जन्मदर्ताको महत्व थाहाभएपनि समयमा नगराएको प्रतिक्रिया दिएका छन् । भोक्राहा नरसिंह ६ का मजामुल मंसुरीले समयमा जन्मदर्ता गराउँदा जरिवाना नलाग्ने थाहा भएपनि घरकामकाले ब्यस्त भएपछि समयमा गर्न नसकेको सुनाउनुभयो ।

त्यस्तै सोही वडाकी कबरुन खातुनले पनि आफनो छोरोछारीको जन्मदर्ता बिलम्ब शुल्क तिरेर बनाउनुभएको छ । उहाँले आफु घरमा एक्लै भएकाले ढिलो गरी जन्मदर्ता बनाउन आएको बताउनुभयो । दैनिक पाँच देखी १० जनासम्मको जन्मदर्ता बनाउन आउनेहरु रहेपनि केही मात्रै समयमा आएको र धेरै बिलम्ब गरी आउने गरेको वडा कार्यालयले जनाएको छ ।