हार्वेस्टर आएपछि धान काट्न सहज: मगर – Nagarikabhiyan : National News

हार्वेस्टर आएपछि धान काट्न सहज: मगर

 इनरुवा । सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा धान काट्ने मेसिन (कम्वाईन हार्वेस्टर)को उद्घाटन गरिएको छ । चन्द्रोदय कृषि सहकारी संस्थाले चालु आर्थिक वर्षमा पहिलो पटक धान काट्ने मेसिन (हार्वेस्टर)को शुक्रबार उद्घाटन गरेको हो ।

हार्वेस्टर उद्घाटन प्रदेश १ का कृषि राज्य मन्त्री रामबहादुर राणा मगरले कृषिमा यन्त्रको प्रयोगले लागत घट्ने र किसानको आम्दानी बढ्ने बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन ईकाई कार्यालयले किसानको सुविधाका लागि नयाँ यान्त्रिक प्रविधि प्रयोगमा ल्याएकाले सहज हुने भएको मन्त्री मगरले बताउनुभयो ।

धान काट्ने जनशक्ति अभाव भइरहेका बेला परियोजनाले यान्त्रिक प्रविधि प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्दै (हार्वेस्टर)को उद्घाटन गरिएको वहाँले बताउनुभयो । वहाँले कृषिमा मेसिन प्रयोग हुन थालेपछि किसानलाई धेरै सुविधा र फाइदा समेत हुने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उराँवले समयको बचत र कम लागतमा धान काट्ने मेसिन (हार्वेस्टर)को प्रयोग र यसको प्रचारप्रसारका लागि गढी गाउँपालिकामा सचेतना अभियान सुरु गर्ने गरी उद्घाटन गरिएको बताउनुभयो । धान जोन इकाई कार्यालय प्रमुख दिपेन्द्र पोखरेलले धान र गहँु काट्ने मेसिनको विस्तार र सचेतना अभियान सञ्चालन गरेको बताउनुभयो ।

कार्यालय प्रमुख पोखरेललले भन्नुभयो, ‘ससाना प्लट जग्गामा हाते मेसिन रिपर र धेरै क्षेत्रफल भएको जग्गामा हार्वेस्टर प्रभावकारी हुन्छ ।’ कार्यक्रममा अथितिहरुले यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ ।

परियोजना धान इकाइ र चन्द्रोदय कृषि सहकारी संस्था लि.को संयुक्त आयोजनामा कृषि यान्त्रिक प्रविधिको बारेमा सचेतना र प्रचारप्रसार सहित ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको (हार्वेस्टर)को उद्घाटन गरिएको कृषि प्राविधिक भुवनेश्वर यादवले जानकारी दिनुभयो ।

संस्थाका कोषाध्यक्ष सियालाल यादवले धान र गहुँ काट्न सहज हुने (हार्वेस्टर)को उद्घाटन गरिएको र एक घन्टामा एक विघा देखि एक विघा १० कट्ठासम्म धान काट्न सकिने बताउनुभयो । कम्बाइन हार्वेस्टर प्रयोग गर्नाले एकैपट काट्ने दौनीको काम समेत प्रभावकारी भए को संस्थाका अध्यक्ष सुरेन्द्र मेहताले जानकारी दिनुभयो ।


१, सुनसरीको गढी ३ छिटाहामा चन्द्रोदय कृषि सहकारी संस्थाद्धारा आयोजित धान काट्ने मेसिन (हार्वेस्टर) उद्घाटन कार्यक्रममा प्रदेश १ का कृषि राज्य मन्त्री रामबहादुर राणा मगर सहितका अथितिहरु ।