सुनसरीमा ६४ जनामा कोरोना संक्रमण, मातपोत एक साताका लागि बन्द
१८ आश्विन २०७७, आईतवार १८:२८
इनरुवा, असोज १८ गते । सुनसरीमा आईतबार एकैदिन ६४ संक्रमित थपिएका छन् । सुनसरीको इटहरीमा १९ महिला र २२ पुरुष, इनरुवामा ६ महिला ८ पुरुष, बर्जुमा २ महिला २ पुरुष, देवानगञ्जमा १ महिला र स्थानीयतह नखुलेका २ महिला २ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । उता फरक प्रसंगमा कचारीमा कोरोना देखिएपछि भुमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीले कार्यालयको कामकाज एक हप्ताको लागि बन्द गरेको छ । कार्यालयले सूचना जारी गर्दै सम्पूर्ण सेवा असोज २४ गते सम्मको लागि बन्द गरिएको जानकारी गराएको छ । कार्यालयद्वारा जारी सुचनामा भनिएको छ, ‘कार्यालयका केहि कर्मचारीमा कोरोनाको संक्रमण देखिएको छ । त्यसका अलावा अन्य कर्मचारी समेत बिरामी परेका छन् । सोही कारण केहि दिनका लागि कार्यालयको सम्पूर्ण कामकाज पूर्ण रुपमा बन्द गरिएको छ ।’
कार्यालयका कर्मचारीले दिएको जानकारी अनुसार अधिकांशजसो कर्मचारीमा रुघाखोकी र ज्वरोको समस्या देखापरेको छ । उनीहरु बिदा लिएर घरमा बसेका छन् । केहिमा कोरोना देखिएको र अन्य कर्मचारी समेत बिरामी परेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि कामकाज बन्द गर्ने निर्णय गरिएको कार्यालय प्रमुख षड्कुमार पोखरेलले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया