प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना धानजोन इकाई बिरुद्ध अख्तियारमा उजुरी
३ आश्विन २०७७, शनिबार १०:४३
इनरुवा । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना धानजोन इकाई सुनसरी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयमा उजुरी परेको छ ।
परियोजनाको धानजोन इकाईले सञ्चालक समिति मार्फत सेवा प्रवाह गरेको र कमिशनमा कार्यक्रम दिएर अनियमितता गरेको भन्दै युवा किसानले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयमा उजुरी परेको हो ।
सुचना, प्रकाशन र इन्धन खर्च सहित अनुदान र कृषि औजार खरिद शिर्षकमा अनियमितता गरेको आरोप सहित युवाहरुले छानबिन गरी कार्वाहीको लागि उजुरी गरेको हो । जिल्लाको गढी गाउँपालिका, रामधुनी नगरपालिका र दुहबी नगरपालिकाका युवाहरुले परियोजनाको पारदर्शिताका लागि दोषीलाई छानविन गरि कार्वाही गर्नुपर्ने माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयमा उजुरी दिएको एक युवाले बताएका छन् ।
प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना अन्र्तगत सुनसरीमा सञ्चालित कार्यक्रममा ब्यापक अनियमितता भएको स्थानीय कृषकहरुले गुनासो गरेको समाचार यसअघि बाहिरी सकेको छ । परियोजनाले १ करोड रुपियाँको आर्थिक अनियमितता गरेको आरोप सहित उजुरी परेको हो ।
अख्तियारले उजुरी आएको र यस बिषयमा थप कानुनी प्रक्रिया अगाडी बढेको प्रतिक्रिया दिएको छ । अनियमितता भएको बिषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुने समेत अख्तियारले जनाएको छ । किसानहरुले भने केही कृषि सहकारी संस्था र कृृषक समूहलाई सिन्डिकेटको अधारमा अनुदान दिएकाले पारर्दिशताको माग गरेका छन् । किसानले परियोजनाको प्रतिफलमा अधारित प्रोत्साहन अनुदान कार्यक्रममा रानी पोखरी ढिक कृषक समुह रामधुनी ७, हातिमारा कृषक समूह, पञ्चान कृषि तथा पशुपालन कृषक समूह, ग्रामिण बहुउदेश्य कृषक समूह रामधुनी ७, जयकिसान कृषक समूह गढी ३, नेशनल बहुउद्धेश्य कृषक समूह र चन्द्रोदय कृषि सहकारी संस्था गढी ३ लाई बितरण गरेकोमा अनियमितता भएको आरोप समेत लगाएको छ । परियोजनाले ७ वटा समुहलाई २ सय हेक्टर धानखेतीका लागि १९ लाख ७० हजार रुपियाँ अनुदान दिएको बताइएको छ ।
तनमुना र छिटाहाका कृषकहरुले परियोजना कार्यान्वयन इकाई प्रमुख दिपेन्द्र पोखरेलले कृषि विकास कार्यालय हुदैं हालसम्म कमिशन र पिसीमा कार्यक्रम दिने गरेको आरोप लगाएका छन् । आरोप र गुनासोको विषयमा इकाई प्रमुख पोखरेलले प्रतिक्रिया दिदैं दुई खाले कार्यक्रम गरेको र कुनै अनियमितता नभएको बताउनुभयो । पोखरेलका अनुसार कार्यक्रमहरु प्रचलित कानुन अनुसार दुहबी र रामधुनी नगरपालिका तथा गढी गाउँपालिकामा कार्यक्रमहरु सम्पन्न गरिएको हो ।
धानजोन इकाईले आर्थिक वर्ष २०७६÷०७७ मा कष्टम हाइरिङ्ग सेन्टर स्थापनाका लागि चार समूहलाई उपकरण र प्रतिफलमा अधारित प्रोत्साहन अनुदान कार्यक्रममा सात समुहलाई समायोजन गरेको पोखरेलले जानकारी दिनुभयो । कष्टम हाइरिङ्ग सेन्टरका लागि कम्वाइन हार्बेष्टर , टयाक्टर ,कल्टीभेटर, डिक्स हेरो, केचविल, थ्रेसर, रोटाभेटर, जिरोभेटर सहित ७४ लाख १५ हजार ५ सय र अनुदान तर्फ १९ लाख ७० हजार रुपियाँ खर्च गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया