मुख्यमन्त्री राउतका स्वकीय सचिवले माफी माग्नुपर्ने सञ्चारकर्मीहरुको माग – Nagarikabhiyan : National News

मुख्यमन्त्री राउतका स्वकीय सचिवले माफी माग्नुपर्ने सञ्चारकर्मीहरुको माग

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव जितेन्द्र यादवले समाचार लेखेकै भरमा पत्रकारहरुलाई भिजलान्ते भनेको भन्दै पत्रकारितासँग आबद्ध संघ संगठनले माफी माग्नुपर्ने माग गरेका छन् ।

स्वकीय सचिव यादवले समाचार लेखेकै भरमा पत्रकारहरुलाई भिजलान्ते लगायतका अमार्यदित शब्द प्रयोग गरी बदनाम गरेको कार्यप्रति आपत्ति जनाउदै नेपाल पत्रकार महासंघ र मधेशी पत्रकार समाज नेपालको प्रादेशिक कार्यसमितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएको छ ।

वैश्विक महामारी कोरोना संक्रमण जस्ता जोखिमको बेलामा पनि जिउज्यानको कुनै परवाह नगरी राज्यको दायित्व बोध गराउने गरी खबरदारीसहित सञ्चारकर्मीहरु नागरिकलाई सुचित गराउन अहोरात्र खटदै आएका छन् । यस्तो अवस्थामा ती पत्रकारलाई कार्यप्रति प्रोत्साहित गर्नुको सट्टा भिजलान्ते लगायतका शब्द प्रयोग गरी अपहेलित र बदनाम गर्नु जस्ता हतोत्साहित गर्ने कार्य सरकार पक्षबाटै हुनु दुःखद रहेको विज्ञप्तीमा भनिएको छ ।

समाचारप्रति चित्त नबुझे सरोकारबाला निकाय समक्ष गुनासो गर्न सकिने प्रावधान हुँदाहुँदै स्वकीय सचिव यादवले पत्रकारहरुलाई भिजलान्ते जस्ता अमर्यादित शब्द प्रयोग गर्नु घोर निन्दनीय र भत्र्सना योग्य रहेकोले उक्त अभिव्यक्तिप्रति गल्ती स्वीकार गरी तत्काल फिर्ता लिई आगामी दिनमा यस्तो गल्ती नदोहरिने प्रतिबद्धता व्यक्त गर्न विज्ञप्ति मार्फत माग गरिएको छ ।

मुख्यमन्त्रीका स्वकीय सचिवले दिएको अभिव्यक्ति तत्काल फिर्ता नलिए आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दुवै संगठनले विज्ञप्ति मार्फत दिएका छन् । विज्ञप्तीमा कर्तव्य निर्वाहको क्रममा संक्रमित भएर उपचार गराइ रहेका सञ्चारकर्मीसहित आमनागरिकको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।