थ्यालेसेमिया रोगबाट पीडितलाई कुमारी बैंकको १० लाख सहयोग – Nagarikabhiyan : National News

थ्यालेसेमिया रोगबाट पीडितलाई कुमारी बैंकको १० लाख सहयोग

विराटनगर । विराटनगर प्याटिनम राउण्ड टेबल–११ द्वारा सञ्चालित सुगन्ध थ्यालेसेमिया प्रोजेक्टका लागि कुमारी बैंकले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

थ्यालेसेमिया रोगबाट पीडित बालबालिकाको उपचारका लागि कुमारी बैंक प्रदेश–१ कार्यालयले १० लाख रुपैयाँ सहयोग गरेको हो । शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका प्रदेश–१ प्रमुख मनिष श्रेष्ठले १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले कुमारी बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले कमाएको नाफाको १ प्रतिशत रकम सहयोग गर्दै आएको जानकारी दिए । उनले कुमारी बैंकले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका विभिन्न ६ वटा क्षेत्रमा सहयोग गर्दै आएको बताए । कार्यक्रममा राउण्ड टेबल इन्टरनेशनलका पूर्वअध्यक्ष जयन्त अग्रवालले राउण्ड टेबलले शून्य लागतमा सेवा पु¥याउँदै आएको बताए । उनले कुमारी बैंकले प्रदान गरेको १० लाख रुपैयाँबाट राउण्ड टेबलले थप सहयोग गर्ने प्रस्ट पारे । राउण्ड टेबल नेपालका अध्यक्ष आन्नद बाहेतीले कुमारी बैंकले प्रदान गरेको रकम थ्यालेसेमिया रोगबाट पीडित बालबालिकाको उपचारका लागि खर्च गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल लेडिज सर्कलकी अध्यक्ष कोपिला अग्रवाल, राउण्ड टेबल प्लाटिनम–११ का सौरभ गोल्छालगायतले मन्तव्य राखेका थिए । प्रफुल्ल डाँगाले सुगन्ध प्रोजेक्ट, थ्यालेसेमिया रोग र यसबाट प्रभावित बालबालिकाका विषयमा जानकारी दिए । प्रदेश–१ मा हालसम्म १ सय ४ जना बालबालिका थ्यालेसेमिया रोगबाट पीडित रहेको र यी बालकालिको उपचारमा धेरै खर्च लाग्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताइएको थियो । थ्यालेसेमिया पीडित बालबालिकाको उपचारका लागि स्वर्गीय डा. विमल अग्रवालले सन् २०१७ मा राउण्ड टेबलसँगको सहकार्यमा सुगन्ध थ्यालेसेमिया परियोजना सञ्चालनमा ल्याएका थिए ।