मृगौला पीडित महतोको गुहार,‘सबैले सहयोग गरिदिए म अवश्य बाँच्नेछु’
३० श्रावण २०७७, शुक्रबार १६:१५
जनकपुरधाम । विगत ३ वर्षदेखि दुबै मृगौला फेल भएका धनुषाको धनुषाधाम नगरपालिका-५ पर्वताका रामसोगारथ महतो कोईरीका ३० वर्षीय छोरा शिवनाथ महतोले उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग अपिल गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो उपचारमा समस्या भएको भन्दै उनले सहयोग मागेका हुन् । आर्थिक अवस्थाका कारण उपचार गराउन समस्या भईरहेको र परिवासमेत कष्टकर जीवन व्यतित गरिरहेकाले आर्थिक सहयोग गरिदिन उनले आग्रह गरेका हुन् ।
अहिलेसम्म जेनतेन गरी नियमित उपचार गराउँदै आएको महतोलाई उपचारमा लाग्ने रकम ठुलो भएकोले आर्थिक संकट आइपरेको छ । उनले भने,‘आर्थिक सहयोग गरिदिन सबैसँग अपिल गरेको छु,सबैले सहयोग गरिदिए म अवश्य बाँच्नेछु । नियमित डायलासिसको भरमा बाँचिरहेको छु ।’
मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरको बेडबाट सहयोगका लागि अपिल गर्दै उनले भने,‘मलाई आजसम्म कुनै संघसंस्थाबाट सहयोग भएको छैन । मेरो लागि पहल गर्ने कुनै व्यक्ति नभएकोले कसैसँग कुनै सहयोग पाएको छुईन् । मेरो श्रीमती र ५ वर्षीया एक छोरीलाई पेट पाल्न समेत निकै समस्या भईरहेको छ । मलाई आशा छ, सबैजनाले मेरो गुहार सुनेपछि अवश्य सहयोग गर्नुहुन्छ ।’
शिवनाथको उपचार र परिवारको संचालन कहिलेकाहीँ चन्दा लगाएर हुने गरेको ग्रीन मिथिला युवा क्लवका सचिव सन्तोष महतोले बताए । नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भनेपनि अन्तमा १५ हजार रुपैयाँ मात्रै उपलब्ध गराउन सकिने बताएपनि त्यो रकम समेत नदिएको उनले बताए । शिवनाथ अहिले भक्तपुरस्थित राष्ट्रिय मानव अंग प्रत्यारोपन केन्द्रमा उपचाररत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया