माओवादीको राष्ट्रिय सम्मेलनमा यसरी छानिन्छन् १५ सय प्रतिनिधि, खान–बस्न आफ्नै, २ हजार तिर्नै पर्ने
२१ मंसिर २०७८, मंगलवार १३:२८
नेकपा माओवादी केन्द्रले आगामी पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्दैछ । माओवादीले यो सम्मेलनमा आफ्ना प्रतिनिधिहरूलाई खान र बस्ने व्यवस्था आफै गर्न सर्कुलर जारी गरेको छ ।
गत १६ र १७ गते पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गरेका निर्णय परिपत्रमार्फत जारी गर्दै माओवादीले सो कुराको जानकारी गराएको हो ।
प्रतिनिधिहरूलाई राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि प्रति प्रतिनिधि शुल्क २ हजार रुपैयाँ तोकिएको छ । २ हजार रुपैयाँ बुझाएपछि मात्रै प्रतिनिधिले बन्दसत्र हलभित्र प्रवेश पाउने छन् ।
यसबाहेक केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने लेबी, सदस्यता नवीकरण शुल्क र राष्ट्रिय सम्मेलनका लागि निर्वाचित प्रतिनिधिको नामावली मंसिर २९ सम्म केन्द्रीय कार्यालयमा पठाउन प्रचण्डले मातहत कमिटीलाई सर्कुलर गरिसकेका छन् । माओवादीले मंसिर २५ मा सबै प्रदेशको प्रदेश सम्मेलन एकैपटक गर्दैछ ।
प्रतिनिधि शुल्क दुई हजार, खाना–बस्न आफ्नै खर्च
माओवादीको राष्ट्रिय सम्मेलनका प्रतिनिधिहरूलाई दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको ‘अपानि’अनुसार प्रतिनिधिले दुई हजार शुल्क तिर्नुपर्नेछ । प्रतिनिधिले खाना र बस्नको व्यवस्था भने आफैँ गर्नुपर्ने सर्कुलरमा उल्लेख छ ।
“राष्ट्रिय सम्मेलनमा सहभागी हुने आयोजक एवं प्रतिनिधिहरूलाई प्रतिनिधि शुल्क रु. २,०००। (अक्षरुपी दुई हजार रुपैयाँ) प्रतिव्यक्ति तोकिएको छ । सबै प्रतिनिधिहरूले खाने, बस्नेलगायत खर्चको व्यवस्थापन स्वयं आफै गर्नुपर्नेछ । आ–आफ्ना प्रतिनिधिहरूको सम्पूर्ण व्यवस्थापनको जिम्मा सम्बन्धित प्रदेशको हुनेछ,” सर्कुलरमा भनिएको छ ।
माओवादी राष्ट्रिय सम्मेलनका लागि विभिन्न समिति गठन गरिएको छ । अध्यक्ष प्रचण्ड राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेजमा लेखनमा व्यस्त छन् ।
केन्द्रीय कमिटीको संख्या घटाउने तयारी, पदाधिकारी कति ?
माओवादी केन्द्रको प्रस्तावित विधानमा २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने उल्लेख छ । प्रदेश र पालिकालाई केन्द्रीकरण गर्न खोजिएको भन्दै केन्द्रीय कमिटीको संख्या कम गर्ने तयारी रहेको कार्यालय सचिव ढकालले जानकारी दिए ।
“हामीले प्रदेश र पालिकाहरूलाई कार्यकारी बनाएर लिएर गएको हुनाले केन्द्रीकरण तल गरिरहेका छौँ । हाम्रो तयारीचाहिँ केन्द्रीय कमिटीको संख्या घटाउने भन्नेमा छ । राष्ट्रिय सम्मेलनसम्म पुग्दा के अवस्था बन्छ, त्यही आधारमा निर्णय हुन्छ,” उनले भने ।
पदाधिकारी कति बनाउने भन्ने छलफलमा नै रहेको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए । “प्रदेशका पदाधिकारी सातजना हुनेछन् । केन्द्रको छलफलमा नै छ । बहुपदमा जाने हो । टुंगो लाग्न बाँकी छ,” उनले भने ।
यस्तो छ परिपत्र



फेसबुकबाट तपाईको प्रतिक्रिया