मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने सरकारको तयारी
२० मंसिर २०७८, सोमबार १५:४५
काठमाडाैँ ।
सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
उनले त्यसका लागि ठोस प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रह समेत गरे । मुस्लिम आयोगले तयार पारेको ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण’ अध्ययन प्रतिवेदन सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गर्दै मन्त्री पौडेलले संविधानले समावेशीताको कुरा सुनिश्चित गरेपनि त्यसलाई कार्यान्वयन गर्ने कामले गति लिन नसकेको स्पष्ट पारे
उनले राजनीतिक दलहरु भित्रै संविधानको भावना अनुसार समावेशिताको सिद्धान्तलाई अंगिकार गरिसकेको अवस्था नरहेको स्विकार गरे । मन्त्री पौडेलले भने, ‘मूलभूत रुपमा संविधानमा हामीले समावेशिताको कुरा त ग¥यौं । तर व्यवहारतः अझै बाँकि छ । व्यवहारतः राजनीतिक पार्टीमा बाँकि छ । सेना, पुलिसमा बाँकि छ । व्यूरोक्रेसीमा बाँकि छ । विभिन्न दलहरुमा पनि बाँकि छ । कुराले मात्रै हुँदैन । त्यसकारण हामी तपाईहरुले उठाउनु भएको कुरालाई गम्भिरतापूर्वक लिएर मन्त्रालयमा छलफल गर्छौ । र पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ ? विगतका कुराहरु पनि खोजीनीति गरेर अघि बढछौं । त्यसका लागि तपाईहरुले ठोस प्रस्ताव ल्याउनु पर्छ ।’
मन्त्री पौडेलले मदरसा शिक्षाको रुपान्तरणका लागि आफूले केही मदरसा शिक्षालयमा अनुगमन गरेको पनि स्मरण गराए ।
मदरसा शिक्षालयमा अझै बोरा ओछ्याएर पढनुपर्ने बाध्यता
यता, आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विद्यालय शिक्षालाई सुविधा सम्पन्न गराउने तर मदरसा शिक्षालाई बेवास्ता गर्ने काम सरकारबाट हुन नहुने बताए । उनले अझै पनि मदरसा शिक्षालयमा बोरा ओछ्याएर पढनुपर्ने अवस्था रहेको भन्दै यो अवस्थाको अन्त्य गर्न मन्त्री पौडेलको गम्भिर ध्यानाकर्षण गराए । अध्यक्ष अन्सारीले भने, ‘अझै पनि मदरसामा बोरामा बसेर पढनुपर्ने अवस्था छ । कहिलेसम्म यो अवस्था रहन्छ ? जुन सार्वजनिक शिक्षालय स्कुल छ । सरकारी स्कुलमा चाँही सुविधा सम्पन्न छ । मदरसामा भने बोरा ओछ्याएर पढनुपर्ने अवस्था कहिले अन्त्य हुन्छ ? अव यो अवस्थामा परिवर्तन गर्नुपर्छ ।’
आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मदरसा शिक्षालाई बेवास्ता गरिएको उल्लेख गर्दै सरकारको आलोचना गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया