प्रदेश सभापतिमा गुरु घिमिरे हारेपछि शेखरले मागे माफी – Nagarikabhiyan : National News

प्रदेश सभापतिमा गुरु घिमिरे हारेपछि शेखरले मागे माफी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरे पराजित भएपछि सभापतिका आकांक्षी डा. शेखर कोइरालाले माफी मागेका छन्।

घिमिरे प्रदेश १ को सभापतिमा मात्र २ मतले पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत माफी मागेका हुन्।

केन्द्रीय सदस्य कोइराला प्रदेश १ को क्षेत्रीय अधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा अनुपस्थित भएका थिए।

उनीसँगै नेताहरु सुजाता कोइराला, बलबहादुर केसी र महेश आचार्य मतदानमा सहभागी नभएको खुलेको छ।

मतदानमा सहभागी नभएका चारै नेताहरु संस्थापन इतर समूहका हुन्। उनीहरु मतदानमा सहभागी हुँदा नेता घिमिरे विजयी हुने निश्चित थियो।

यद्यपि, उनी संस्थापन पक्षीय उम्मेदवार उद्धव थापासँग दुई मतले पराजित भएका छन्।

‘कांग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने(नपाउने विषय सुरु देखि नै ‘संशय’ थियो,’ उनले भनेका छन्, ‘कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानेँ। यस क्रममा मबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।’