डुम्राहाका किसानलाई दुई सय माउँ बाख्रा र १० विउँ बोका प्रदान
१८ श्रावण २०७७, आईतवार १९:०५
इनरुवा । सुनसरीको रामधुनी नगरपालिका ८ र ९ तथा इनरुवा नगरपालिका ८ डुम्राहाका किसानलाई दुई सय माउँ बाख्रा र १० बोका प्रदान गरिएको छ ।
साविकको डुम्राहा गाविस र हाल परिवर्तित रामधुनी नगरपालिकाको दुई वटा वडा र इनरुवा नगरपालिकाको एक वटा वडामा गरि तीन वडाका ५० परिवार किसानलाई माउँ बाख्रा र विउँ बोका वितरण गरेको हो ।
व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका किसानको प्रोत्साहनको लागि वडामै किसानलाई माउँ बाख्रा र विउँ बोका वितरण गरेको पशु विकाश अधिकृत रामप्रसाद मेहताले जानकारी दिनुभयो ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले वृहतर उत्कृष्ट बाख्रा पालन समिति मार्फत तीन वडाका ५० परिवार किसानलाई माउँ बाख्रा र विउँ बोका वितरण गरेको मेहताले बताउनुभयो ।
बाख्रा खोर सुधार कार्यक्रम र खोर निर्माण सहित प्रति किसान चार /चार थान माउँ बाख्रा र २० वटा बाख्रालाई पुग्ने गरि एक ÷एक विउँ बोका प्रदान गरेको मेहताको भनाई छ ।
किसानलाई माउँ बाख्रा र विउँ बोका वितरण कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख राजेन्द्र राय, जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारी, रामधुनी नगरपालिका ८ का वडा अध्यक्ष रुद्र बस्नेत र रामधुनी ९ का वडा अध्यक्ष घनश्याम चौधरी तथा इनरुवा नगरपालिका ८ डुम्राहाका वडा अध्यक्ष रविन्द्र मण्डल लगायतकाले बाख्रा वितरणले पालिकाहरु मासुमा आत्मनिरर्भ हुने विश्वाश व्यक्त गर्नुभएको थियो ।
दुई नगरपालिकाको ३ वटा वडामा व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका किसानलाई प्रोत्साहन स्वरूप बाख्रा प्रदान गरिएको जानकारी दिएको छ । बाख्रा वितरण गर्दै समन्वय समितिका प्रमुख भण्डारीले किसानलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले बाख्रा वितरण गरिएको बताउनुभयो । उहाँले जीवन निर्वाहमुखी कृषि प्रणालीभन्दा माथि उठेर व्यवसायिक ढंगले लाग्न आग्रह गर्नुभयो ।
त्यस्तै, पशु प्राविधिकहरुले बाख्राको हाडनाता प्रजनन गराउँदा बाख्राको उत्पादन घट्दै गएको हुँदा त्यसमा ध्यान दिन किसानलाई आग्रह गरेका छन् । त्यसैगरी उनीहरुले घाँसमा आधारित पशुपालनमा किसानले ध्यान दिनुपर्ने जोड दिएको थियो ।
स्थानीय जातका बाख्रा विस्थापित गरेर सबै उन्नत जातका र केही बोयर जातका बाख्रा पाल्न थालेका किसान भावना बस्नेतले बताउनुभयो । समितिकी अध्यक्ष कोपिला कार्कीले आफू बोका र माउ बाख्राको माग बढेकाले फार्ममा बाख्राको सङ्ख्या १०० बढी पुर्याउने योजनामा रहेको बताउनुभयो ।
कार्कीले आफूहरुलाई बाख्रापालनका लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्राविधिक सहयोग गरेको छ । बाख्राको आहारा आपूर्तिका लागि भूइँ र डाले घाँस खेती गर्न , बाख्रा खोर निर्माण र माउँ तथा बोका समेत अनुदानमा दिएको बताउनुभयो ।
कार्कीले बोयरको पाठापाठी एकदमै छिटो बढ्ने भएकाले बयर बोका नै १० थान वितरण भएको जानकारी दिनुहुदै ९० दिनमै ३६ किलोग्रामसम्म तौल हुने र किसानले लाभ लिने बताउनुभयो । बयरको दैनिक २०० देखि ३०० ग्रामका दरले तौल बढ्छ । बयस्क बोयर बाख्रा तथा बोकाको तौल १५० किलोग्राम हुन्छ ।
बोयर खसी, बोका र मासुका लागि विश्वमै प्रख्यात छ ।
नेपालमा कृषकले स्थानीय खरी, बारबरी र जमुनापारी जातका बाख्रासँग बोयरलाई क्रस गराउन थालेकाले यसको बोकाको माग उच्च छ । एकपटकमा सामान्यतया दुई वटा पाठापाठी जन्माउने बोयर बाख्रा दुई वर्षमा तीन पटक सम्म ब्याउँछ । अन्य जातका बाख्रा जस्तै घरमा घाँस र दाना खुवाएर बोयर पाल्न सकिने डुम्राहाका किसान रामप्रसाद भण्डारीले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया