सुविधा थप्दा पनि पाइँदैनन् विषयगत शिक्षक – Nagarikabhiyan : National News

सुविधा थप्दा पनि पाइँदैनन् विषयगत शिक्षक

खाना, बस्न र तलबमै अतिरिक्त सुविधा थप्दासमेत दुर्गमका विद्यालयले शिक्षक पाएका छैनन् । कक्षा ६ देखि नै सरकारले विज्ञानलाई अनिवार्य विषयका रूपमा समावेश गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार जिल्लामा आधारभूत तह (कक्षा ६–८) मा १ सय ७५ जना र माध्यमिक तहमा १ सय १५ जना विज्ञान शिक्षकको दरबन्दी भए पनि अहिले २२/२२ जना मात्र कार्यरत छन् । बाँकी दरबन्दीमा विद्यालयले राहत तथा निजी स्रोतबाट करारमा शिक्षक नियुक्त गरेर पढाइरहेका छन् ।

विज्ञान, गणित शिक्षक करार र अस्थायी दरबन्दीमा आउन मान्दैनन् । अन्यत्र जागिर सुरक्षित नहुँदासम्म आएका शिक्षक पनि सहरी इलाकामै तानातान हुने भएकाले दुर्गममा पुग्नै पाउँदैनन् । ‘हामीले विज्ञान शिक्षकका लागि ३ पटक सूचना निकाल्यौं तर शिक्षाशास्त्र संकायअन्तर्गत विज्ञान विषय लिएका उम्मेदवार नै पाइएनन्,’ रघुगंगा गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद शर्माले भने, ‘सदरमुकाममै अभाव छ । दुर्गमका विद्यालयमा सधैं विज्ञान शिक्षकको पिरलो भइरहन्छ ।’

म्याग्दी जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षकको सधैं अभाव हुने गरेको छ ।

पेसाप्रतिको घट्दो आकर्षणले धेरैजसो जनशक्ति शिक्षण पेसाभन्दा निजामती सेवातर्फ आकर्षित भएका छन् । शिक्षा सेवा आयोगबाट नियुक्ति लिई आएका अधिकांश विज्ञान शिक्षक केही महिनामै लोक सेवाको निजामतीतर्फ नाम निकालेर पेसा बदल्ने गरेका छन् । इकाइका अनुसार गतवर्ष मात्र जिल्लाका ७ जना विज्ञान शिक्षक शिक्षण पेसाबाट निजामतीतर्फ गएका थिए ।

त्यसैगरी, शिक्षा सेवा आयोगबाट मधेसी कोटा र अन्य जिल्लाबाट नाम निकालेर यहाँ नियुक्ति लिएर आउने र एक वर्षपछि सरुवा मिलाएर जाँदा गणित र विज्ञान विषयका शिक्षक सधैं अभाव हुने गरेको हो । सदरमुकाम बेनीका सामुदायिक तथा संस्थागतबाहेक जिल्लाका सबै माध्यमिक तहका विद्यालयले वर्षमा कुनै न कुनै महिना विज्ञान वा गणित विषयको शिक्षक ‘भाग्ने’ समस्या झेल्दै आएका छन् ।

शिक्षक उपलब्ध भएका विद्यालयमा पनि कुनै न कुनै महिना शिक्षकको ‘ग्याप’ हुने गरेको छ । ‘जिल्लामा विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षक नपाउने वा टिकाउनै नसकिने समस्या छ । कक्षा ६ देखि नै विज्ञान विषय अनिवार्य गरिए पनि जनशक्ति उत्पादन छैन । उत्पादन भएको र देशमा रहेको जनशक्ति पनि शिक्षण सेवामा भन्दा निजामतीतर्फ आकर्षित छ,’ इकाइ प्रमुख दलबहादुर थापाले भने, ‘शिक्षक लाइसेन्स परीक्षामा विषय नमिल्दो र अव्यावहारिक हुँदा शिक्षक समस्या भएको हो ।’

यसैगरी, सदरमुकामका सामुदायिक तथा संस्थागत विद्यालयमै योग्यता पुगेका कम्प्युटर शिक्षक छैनन् । ‘एउटा कम्प्युटर शिक्षकले दिनमा सामुदायिक र संस्थागत गरी चार वटासम्म विद्यालयमा पढाउने गरेका छन्,’ प्रकाश माविका सहायक प्रधानाध्यापक लेखबहादुर हमालले भने, ‘कम्प्युटर विषयमै योग्यताप्राप्त शिक्षक पाउनै सकिन्न । अन्य विषयमा योग्यता लिएका र कम्प्युटर तालिमप्राप्त शिक्षकबाट कामचलाउ पढाउनुपर्ने बाध्यता छ ।’

इन्जिनियरिङ र गणित विषयका शिक्षकको पनि उस्तै समस्या छ । प्राविधिक धारमा पढाइ हुने बेनी–९ तोरीपानीस्थित गलेश्वर माविले बीईतर्फका शिक्षक कहिल्यै पाउँदैन । सरकारले डिजिटल शिक्षण भनेको र विद्यालयमा कम्प्युटर पढाइ हुने भनिए पनि विषयगत शिक्षक अभावमा कम्प्युटर विषय पढाउनै समस्या भइरहेको विद्यालयहरू बताउँछन् ।

विषयगत शिक्षकको सधैं पिरलो भइरहेपछि म्याग्दी बहुमुखी क्याम्पसले आगामी सत्रदेखि स्नातक तह शिक्षाशास्त्रतर्फ विज्ञान र कम्प्युटर तथा सूचना प्रविधि विषयको पढाइ सुरु गर्ने भएको छ । स्नातक तहमा विज्ञान र कम्प्युटर विषयको पढाइ सुरु गर्न जिल्लाका सबै स्थानीय तहले आर्थिक स्रोत जुटाउने ऐक्यबद्धता पनि जनाएका छन् ।‘विज्ञान विषयका शिक्षकको धेरै माग भए पनि उत्पादन नभएकोले क्याम्पस स्थानीय विद्यालयको माग सम्बोधन गर्न शिक्षा संकायअन्तर्गत विज्ञान र कम्प्युटर तथा सूचना प्रविधि विषय अध्यापन सुरु गर्ने तयारीमा छ,’ क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण सुवेदीले भने, ‘त्रिविवि पनि सकारात्मक छ ।’ (कान्तिपुर)