नगरप्रमुखका कारण जनकपुरधाम उपमहानगरको क्वारेन्टाइनमा तिन हप्तादेखि स्वाब संकलन बन्द
१२ श्रावण २०७७, सोमबार १९:५७
जनकपुरधाम । आफुहरुको पीसीआर परिक्षण नगरेको भन्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-४ स्थित गोपाल धर्मशालामा सञ्चालित क्वारेन्टाईनमा बसेका व्यक्तिहरु आन्दोलित भएका छन् ।
क्वारेन्टाइनमा बसेको दुई साताभन्दा बढी समय बितीसक्दापनि आफुहरुको पीसीआर परिक्षण नगरिएको भन्दै क्वारेन्टाईन बाहिर निस्केर उनीहरुले विरोध जनाएका हुन् ।
स्वाब संकलनका लागि ताकेता गर्दागर्दै यहाँ बसेको १५ दिन भईसक्यो, भारतको हरियाण राज्य कुरुक्षेत्रबाट आएका इन्जिनीयरिङ अध्ययनरत जनकपुरधाम-२१ कुर्थाका जिलाजितकुमार साहले भने,‘तर आफुहरुको स्वाब संकलन अझै नगरिएकोले संक्रमणको खतरा बढेको छ ।’
उनले भने,‘कोरोना परीक्षण गराएर घर जाँदा ठीक हुन्छ भनेर म यहाँ आएर बसे, यहाँ बसेको १५ दिन भइसक्यो तर हालसम्म स्वाब संकलन गरिएको छैन । प्रत्येक दिन क्वारेन्टाइनमा आउने शंकास्पदहरुको सख्या बढदै गएकोले संक्रमणको खतरा झन बढदै गएकोले परिक्षणका लागि पटक पटक ताकेता गर्दा पनि कुनै चासो नलिएपछि बाध्य भएर बाहिर निस्की आन्दोलनमा उत्रिनु परेको उनले बताए ।
सो क्वारेन्टाइनमा ३ जना बालबालिका, १५ जना पुरुष र ८ महिला गरी २३ जना बस्दै आएका छन् । ती मध्ये करिव ९ जनाको १४ दिनभन बढी समय क्वारेन्टाईनमा भइसकेको छ । नियमतः क्वारेन्टाईनमा बसेको एक हप्ता भित्रै परीक्षणका लागि स्वाब संकलन गरिसक्नुपर्ने हुन्छ । तर, जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीका कारण विगत तिन हप्तादेखि सो क्वारेन्टाईनमा कसैको स्वाब संकलन हुन सकेको छैन ।
यता, क्वारेन्टाइनमा खटेका स्वास्थ्यकर्मी चन्द्रदेव शर्माले पीसीआर परीक्षणका लागि स्वाब संकलनमा ढिलाई भएको स्वीकार गर्दै आफूले उपमहानगरपालिका प्रमुखलाई गुहार लगाउँदा पनि उनले कुनै चासो नलिएको बताए । समयमा पीसीआर परीक्षण हुन नसकेपछि क्वारेन्टाइनभित्र थप जोखिम बढेको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया