नेपालमा हालसम्म एक करोड ६९ लाख बढी मात्रा कोरोना खोप लगाइयो – Nagarikabhiyan : National News

नेपालमा हालसम्म एक करोड ६९ लाख बढी मात्रा कोरोना खोप लगाइयो

काठमाडौं । नेपालमा हालसम्म एक करोड ६९ लाख मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप अभियान सुरु भएको १० महिनाको अवधिमा एक करोड ६८ लाख ८३ हजार १६० मात्रा खोप लगाएको हो ।

नेपालमा गत माघ १४ गतेबाट खोप अभियान सुरु भएको थियो । नेपालमा कोभिशिल्ड, भेरोसेल, जोन्सन र एस्ट्राजेनेका खोप लगाइएको छ । हाल नेपालमा ७८ लाख ७६ हजार ७ सय ३ जनाले पूर्णमात्रा र ९१ लाख ९ हजार ६ सय ६६ जनाले एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म लक्षित समूहको ४६ प्रतिशतले पहिलो मात्रा र ३९ प्रतिशतले दोस्रो मात्रा खोप पाएको मन्त्रालयको तथ्यांक छ ।

परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार प्रदेश १ मा ३९ प्रतिशतले पहिलो मात्र खोप लगाएका छन् । सो प्रदेशमा २४ प्रतिशतले दोस्रो खोप लगाएका छन् । प्रदेश २ मा ३३ प्रतिशत जनसंख्याले पहिलो मात्रा, १७ प्रतिशत दोस्रो मात्रा लगाएको मन्त्रालयको भनाइ छ । बागमती प्रदेशमा ६९ प्रतिशत पहिलो मात्रा खोप लगाउँदा ५७ प्रतिशतले दोस्रो मात्रा खोप लगाइसकेका छन् ।

त्यसैगरी गण्डकीमा ६१ प्रतिशतले पहिलो मात्रा र ३७ प्रतिशतले दोस्रोमात्र खोप लगाएका छन् । लुम्बिनी प्रदेशमा ३८ प्रतिशतले पहिलो मात्रा २७ प्रतिशतले दोस्रो मात्रा खोप लगाएको तथ्यांक छ ।

कर्णालीमा भने ३३ प्रतिशतले पहिलो तथा २२ प्रतिशत दोस्रो मात्रा खोप लगाएका छन् । त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा ४० प्रतिशतले पहिलो मात्रा, २९ प्रतिशत जनसंख्याले दोस्रो र ७ प्रतिशत जोन्सन खोप लगाएका छन् ।

परिवार कल्याण महाशाखाका अनुसार नेपालमा हालसम्म अनुदान, खरिद तथा कोभ्याक्स सुविधामार्फत २ करोड ५४ लाख ७० हजार ६३० डोज खोप आइसकेको छ । नेपालले एक करोड ४७ लाख ७०८ डोज भेरोसेल खोप चीनबाट ल्याएको हो ।

त्यस्तै १ लाख ६२० डोज फाइजर कोभ्याक्स सुविधा अन्तर्गत नेपालले पाएको महाशाखाले जनाएको छ । त्यसैगरी, ३ लाख ४८ हजार डोज एस्ट्राजेनिका क्यानेडियन सरकारले नेपाललाई उपलब्ध गराएको थियो । भारतबाट अनुदानमा कोभिशिल्ड १० लाख मात्रा, नेपाली सेनालाई कोभिशिल्डकै एक लाख मात्रा, चीनबाट अनुदान सहयोगमा हालसम्म १८ लाख मात्रा भेरोसेल खोप, गाभीमार्फत ३ लाख ४८ हजार मात्रा कोभिशिल्ड खोप नेपालले प्राप्त गरेको छ ।

यस्तै, अमेरिकाबाट जोनसन एण्ड जोनसन खोप १५ लाख ३४ हजार मात्रा नेपालले अनुदानमा प्राप्त गरेको छ ।