बस दुर्घटना हुँदा १८ जना घाइते
४ मंसिर २०७८, शनिबार १४:३८
विराटनगर । मोरङको सुन्दरहरैंचामा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
सुन्दरहरैंचा–१० स्थित खोर्साने बजारमा शनिबार बिहानै सडकमा कुदिरहेको यात्रुबाहक बस रुखमा ठोकिँदा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीले बिहान करिब ४ बजेतिर पूर्व–पश्चिम लोकमार्गमा पर्ने पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४२०३ नम्बरको बस रुखमा ठोकिएर दुर्घटना भएको र दुर्घटनामा परेर १८ जना घाइते भएको जनाएको छ । दुर्घटना हुँदा बसमा २९ जना यात्रु सवार थिए ।
घाइतेको स्थानीय सुकुना सामुदायिक अस्पतालमा उपचार गराइएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटनामा परेर बसको अगाडिको भाग पूर्णरूपमा क्षति भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया