प्रदेश २ : गुप्तचर राख्ने नाममा २४ लाख खर्च – Nagarikabhiyan : National News

प्रदेश २ : गुप्तचर राख्ने नाममा २४ लाख खर्च

जनकपुरधाम । प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आफ्नै अनुसन्धान अधिकारी (गुप्तचर) राख्ने नाममा २४ लाख रुपैयाँ खर्च गरेको छ । महालेखा परिक्षकको कार्यालयले मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा सो रकम खर्च गरेको जनाएको छ ।

प्रदेश सरकारले प्रदेशको शान्ति सुरक्षा स्थापना गर्न नसकेको भन्दै सरकारको आलोचना हुँदै आइरहेको छ । तर, प्रहरी प्रशासन आफ्नो मातहत नरहेको भन्दै समस्या भइरहेको अवस्थामा प्रदेश सरकारले समेत संघीय सरकारको नक्कल गरेर रकम बाँडन थालेको देखिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को २०७५ जेठ १० गतेको निर्णयअनुसार आन्तरिक मामिला तथा कानून मन्त्री र सचिवलाई भईपरी आउने शान्ति सुरक्षाको काममा बिलभरपाइ पेश गरी रहनुनपर्ने गरी महिनाको अधिकतम ५ पटकसम्म हुनेगरी मन्त्रीलाई प्रति पटक ३० हजार र सचिवलाई १० हजार रुपैयाँ खर्च गर्ने अख्तियारी दिइएको छ । सोही आधारमा गत वर्ष मन्त्रीले १८ लाख र सचिवले ६ लाख रुपैयाँ गरी कूल २४ लाख रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशभित्र शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको आर्थिक हित, विकास, औद्योगिकरण र व्यापार व्यवसायको प्रवद्र्धन गर्न यस सम्बन्धी सूचना संकलन गरी प्रशोधन गर्न प्रदेश सरकारले आफ्नै गुप्तचर राख्न लागेको जनाएको छ ।