चैत्र मसान्तभित्र कोरोना खोप लगाउने लक्ष्यमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन
११ कार्तिक २०७८, बिहीबार १२:४८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत्र मसान्तसम्म सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारी लक्ष्यमा केन्द्रीत हुन निर्देशन दिनुभएको छ । बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिनुभएको हो ।
बैठकमा देउवाले भन्नुभयो, ‘ आगामी ६ महिनाभित्र सरकारले सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ । खोपमा कुनै कमी नहोस् । दाताहरुसँग त्यहीअनुसार मागौँ, आग्रह गरौँ । बरु आफै खरिद गरौँ । तर, सबै नागरिकलाई सकेसम्म निःशुल्क लगाउने व्यवस्था गरौँ । ’साथै, प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्बन्धित सबै निकायलाई खोपको सुनिश्चितताका लागि समेत निर्देशन दिनुभएको हो ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी( गठन गरेको थियो । तर, सो अध्यादेश निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेशमार्फत् प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया