तुइनबाट खसेर हेटौंडामा वृद्धको मृत्यु – Nagarikabhiyan : National News

तुइनबाट खसेर हेटौंडामा वृद्धको मृत्यु

हेटौंडा । तुइनबाट खसेर हेटौंडा एक वृद्धको मृत्यु भएको छ । हेटौंडा–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको तुइनबाट खसेर मृत्यु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरबाट तुइन विस्थापित भएको बताइरहँदा मंगलबार तुइनबाट खसेर पराजुलीले ज्यान गुमाउनु पुर्यो ।

रापती र सामरी खोला दोभानमा रहेको तुइन तर्ने क्रममा उनी खसेका थिए । तुइनबाट खसेर रापती खोलाले उनलाई बगाएको थियो । हेटौंडाबाट लालझाडी जान तुइन चढेका उनी खुट्टा चिप्लिएर खसेका थिए ।

खोलाले बगाएर करिब तीन सय मिटर तल पुगेपछि उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा थप उपचारका लागि चितवन रिफर गरिएको थियो । चितवन लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।