धनुषामा छोराहरूको हत्या गरेपछि आमाले गरिन् आत्महत्या
२३ आश्विन २०७८, शनिबार १२:४५
धनुषा । जिल्लाको नगराइनकी एक महिलाले दुई नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छन् । नगराइन नगरपालिका–७ फुलगामाकी २४ वर्षीया गुडिया साहले ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको घाँटी डोरीले कसेर हत्या गरेपछि आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
श्रीमान घर बाहिर रहेको बेला छोराहरुको हत्या गरेपछि उनले पनि आत्महत्या गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। गुडियादेवीले झुण्डिएर आत्महत्या गरेकी हुन् । गुडियाका पति गुरुदेव साह जनकपुरधाम आएका बेला घटना भएको प्रहरीले जनाएको छ। छोराहरूले चिच्याएको आवाज बाहिर नजाओस् भनेर चर्को स्वरमा डिजे साउन्ड बजाएर हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । तीनैजनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया