वडाध्यक्षमा कोरोना भेटियो
१९ असार २०७७, शुक्रबार १७:३५
राजविराज । सप्तरीमा पहिलो पटक वडाध्यक्षमा कोरोना भाइरस संक्रमित भेटिएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवका अनुसार वारेन्टाइन व्यवस्थापनमा सक्रिय रहेका जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ का ५८ वर्षीय वडाध्यक्ष पुरुषमा कोरोना संक्रमण पुष्टि भएको राससलाई बताउनुभयो ।
उनीसँगै गाउँपालिकाका अन्य वडाका अध्यक्षहरु, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी, कार्यालय सहयोगी सहितक अन्य कर्मचारीको स्वाब संकलन गरी( पीसीआर) परीक्षण गर्ने तयारी समेत गरिएको प्रमुख यादवले भन्नुभयो ।
उक्त क्वारेन्टाइनमा बसेकामध्ये करिब २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको बताउदै वडाध्यक्षसहित उक्त गाउँपालिकाभरी हालसम्म ४२ जना संक्रमित पाइएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिनुभयो ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई आफनो घर फर्किएको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया