पाहा खोज्न गएका दुई युवकको लडेर मृत्यु
३० भाद्र २०७८, बुधबार १२:४५
हेटौँडा । जंगलमा पाहा (भ्यागुता प्रजातिको जीव) खोज्न गएका मकवानपुरको भीमफेदी गाउँपालिका ५ का दुई युवकको मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिका ५ स्थित धुन्धुरे खोलामा मंगलबार राति पाहा मार्न गएका भीमफेदी ५ माथिल्लो ज्यामिरेका नवीन दोङ र सोही वडाका राजन दोङको लडेर मृत्यु भएको हो । धुन्धुरे खोलाको उचाई ११० मिटर रहेको बताइएको छ ।
पर्याप्त पाहा पाउने धुन्धुरे खोलाको उचाइबाट चिप्लिएर लड्दा दुवै जनाको मृत्यु भएको खबर प्राप्त जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयइश्वर रिमालले बताउनुभयो । खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल गएको र मुचुल्का उठाउने काम भइरहेका उहाँले बताउनुभयो । धुन्धुरे खोलाबाट आवश्यक प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौँडा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
दीर्घ रोगहरुबाट मुक्त हुनका मकवानपुरमा पाहाको शिकार गरी मासु खाने चलन पहाडी बस्तीहरूमा छ । कैलाश, भीमफेदी, इन्द्रसरोबर, राक्सिराङ लगायत गाउँपालिकाहरुमा पाहाको शिकार हुने गरेको छ । रातमा मात्रै आहाराका लागि खोँचहरुबाट निस्कने पाहाको शिकारका लागि मानिसहरु जंगल जाने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया