१७१ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मात्रै घट्यो – Nagarikabhiyan : National News

१७१ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मात्रै घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ७१.४ अंकले बढेको छ। यो वृद्धिसँगै परिसूचक २९४७ अंकमा कायम भएको छ। यस दिन कुल ९ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम गत बिहीबारको तुलनामा बढी हो।

म्युचुअल फण्डबाहेक सबै समूहमा हरियाली छाएको छ। बैंकिङ २४, विकास बैंक २७३, फाइनान्स ११४, होटल तथा पर्यटन ७७, जलविद्युत २१३, लगानी २, जीवन बीमा २९७, उत्पादन २९९, माइक्रोफाइनान्स ११३, निर्जीवन बीमा ४२४, अन्य १८ र ब्यापार समूह ४२ अंकले बढे।

१७१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मात्रै घटेको छ। २ कम्पनीको मूल्य भने स्थिर रह्यो।

यस दिन १ दर्जन बढी कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ। राष्ट्रिय बीमा कम्पनी, अरुण काबेली पावर, लिबर्टी इनर्जी, नेसनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी (संस्थापक), छ्याङ्दी हाइड्रोपावर, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, पाँचथर पावर कम्पनी, सानिमा लाइफ इनस्योरेन्स, अपि पावरको मूल्य ठीक १० प्रतिशतले बढ्यो।

हिमालयन पावर पार्टनर, सिनर्जी पावर, ङादी ग्रुप, शिवश्री हाइड्रोपावरको मूल्य पनि साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।यस दिन रैराङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै २.२ प्रतिशत मूल्य गुमाए।

कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।

युनाइटेड मोदी हाइड्रोपावर, अपि पावर, नेसनल हाइड्रोपावर र माथिल्लो तामाकोसी पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।