बालिका जबर्जस्तीकरणीका आरोपित युवक तीन लाख धरौटीमा छुटे
२७ भाद्र २०७८, आईतवार १०:३८
लमजुङ । बालिका जबर्जस्तीकरणीको आरोपमा पक्राउ परेका एक युवकलाई अदालतले धरौटीमा छाडेको छ । लमजुङको राइनासमा १४ वर्षीया बालिका बलात्कारका आरोपी अर्जुनविक्रम थापालाई २३ दिनपछि अदालतले धरौटीमा रिहा गरेको हो ।
आरोपितले प्रहरीसमक्षको बयान र अदालतको बयानमा समेत आफूले सो किसिमको अपराध गरेको स्वीकार नगरेको र मुद्दा पनि नौ महिनापछि आएका कारण तीन लाख धरौटीमा रिहा गरिएको अदालतका श्रेस्तेदार उदयराज काफ्लेले बताए । बालिका जबर्जस्तीकरणी जस्तो जघन्य अपराधको मुद्दामा पनि आरोपित धरौटीमा छुटेकोमा सरोकारवाला पक्षले असन्तुष्टि जनाएको छ ।
सोही घटनामा जाहेरी परेको १४ दिनपछि पक्राउ परेका शिक्षक प्रकाश थापा भने प्रहरी हिरासतमा अनुसन्धानकै क्रममा छन् । आफ्नै विद्यालयमा पढ्ने बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा शिक्षकसहित थापाद्वय प्रहरी नियन्त्रणमा परेका हुन् । प्रहरीका अनुसार बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा शिक्षक थापा र राइनास नगरपालिका–९ का अर्जुनविक्रमविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
शिक्षक र विद्यार्थीबीच करणीसम्वन्धी घटना सार्वजनिक भएसँगै गत १९ जेठमा प्रहरीले शिक्षक थापालाई पक्राउ गरे पनि तत्कालीन समयमा कानुनी प्रमाण नपुगेको भन्दै प्रहरीले उजुरी लिन अस्वीकार गरेको थियो । पीडित भनिएकी बालिकाको उमेर १४ वर्ष भएकाले उक्त आरोपमा त्यति सहजै छिनोफानो नहुनुपर्ने र तत्कालीन समयमा भएका गतिविधिमा विभिन्न शंका गर्ने ठाउँ भएकाले सामाजिक सञ्जालमार्फत चर्को आलोचनासमेत हुुँदै आएको थियो ।
तत्कालीन समयमा बालिकाले घटना नभएको बयान दिएको भन्दै प्रहरीले मुद्दा चलाउन कानुनी प्रमाण नभएको भन्दै छोडिदिएको थियो । तर बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाले घटना गम्भीर प्रकृतिको भन्दै पुनः ब्यूँताएका हुन् । पीडित भनिएकी बालिकालाई करिब दुई महिनासम्म संरक्षणमा राखी परामर्श गरेपछि बालिकाले शिक्षकले मात्रै नभई अर्को व्यक्तिले पनि आफूलाई बलत्कार गरेको बयान दिएपछि प्रहरीले थप दुईजनालाई नियन्त्रणमा लिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया