देवानगञ्जमा विकासले गति लियो – Nagarikabhiyan : National News

देवानगञ्जमा विकासले गति लियो

देवानगंज ।  सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका क्षेत्रका सडकबाटो निर्माणको कार्यले तिव्रता पाएको छ । गाउँमा हिलो र धुलो सडकहरुमा धमाधम उच्चस्तरीय ग्राभेल र कालोपत्रेको काम सुरु भएको छ । केही स्थानमा काम सम्पन्न भएको छ भने केही ठाउँमा कालोपत्रेको काम सुरु भएको गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहताले जानकारी दिनुभयो ।

मेहताका अनुसार कप्तानगञ्ज नयाँ हटियादेखी पाचोसिम्बरसम्मको बाटो कालोपत्रे भईरहेको छ । वर्षौदेखी हिलो र धुलो रहेको सडक निर्माणको काम भईरहेकोले स्थानीयहरु समेत खुसी भएको वडा अध्यक्ष अनिल कुमार भगतले जानकारी दिनुभयो । देवानगञ्ज गाउँपालिकाको कप्नागञ्ज क्षेत्रमा मात्रै पाँच किलो मिटर बाटो कालो पत्रे र उच्चस्तरीय ग्राभेल गर्ने काम भएको भगतले बताउनुभयो ।
उता देवानगञ्ज गाउँपालिका ७ सिनुवारीमा हिलो हुने दुई वटा बाटोमा आरसिसि ढलान गरिएको छ । आरसीसी ढलान सहितको बाटो निर्माण भएकाले आवतजावतमा सहज भएको राजगञ्ज सिनुवारीका विजल यादवले बताउनुभयो ।

त्यसैगरी भाडामा रहेको देवानगञ्ज गाउँपालिकाको कार्यालय अव एक वर्षमा आफ्नै भवनमा सर्ने गरी देवानगञ्ज गाउँपालिकाको आफ्नै भवन निर्माणको काम सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपानेले जानकारी दिनुभयो । देवानगञ्ज गाउँपालिका २ मा सुविधा सम्पन्न, भूकम्प प्रतिरोधी भवन निर्माणको काम सात करोड लगानीमा सुरु भएको न्यौपानेले बताउनुभयो ।

त्यसैगरी देवानगञ्ज गाउँपालिका ४ नम्बर वडा कार्यालय भवन समेत निर्माण अन्तिम चरणमा पुगेको वडा अध्यक्ष चन्देश्वर मेहताले जानकारी दिनुभयो ।