यी हुन् नेता नेपाललाई अन्तिम समयमा छोडेका प्रभावशाली नेताहरु – Nagarikabhiyan : National News

यी हुन् नेता नेपाललाई अन्तिम समयमा छोडेका प्रभावशाली नेताहरु

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर नेकपा एमाले समाजवादी गठन गर्दै गर्दा माधव कुमार नेपालले ठूलो संख्यामा प्रभावशाली नेताहरुको साथ गुमाएका छन् ।

फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका माधवकुमार नेपालले बुधवार पार्टी विभाजन गर्दा स्थायी कमिटीका अधिकांश नेतासहित ३७ जना केन्द्रीय सदस्यको साथ गुमाएका हुन् ।

गत चैत्रमा उनले पार्टी फुटाउने प्रयास गरेको भए उनको पक्षमा सबै नेताहरु साथै रहने धेरैको आँकलन छ । त्यस बेला भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेताहरुले पार्टी फुटाउने पक्षमा थिए । तर माधव नेपालले आफू पक्षका नेताहरुको पद जाने डरले गर्दा त्यो हिम्मत गरेनन् । तर अहिले सरकारले ल्याइदिएको दल विभाजन सम्बन्धी अध्यादेशको सहारामा उनले पार्टी फुटाउन उनले ठूलो मात्रामा नेताहरु गुमाएका छन् ।

नेपालले दल दर्ताका लागि निवेदन दिएको एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिमा साबिक एमालेका ५८ जना केन्द्रीय सदस्य समेटिएका छन् । यसबीचमा पशुपति चौलागाईंको निधन र गणेश पहाडी, बिष्णु रिजाल तथा सोम मिश्रले माधव गुट छाडेपछि पनि उनीसँग ८६ जना केन्द्रीय सदस्य थिए ।

पार्टी विभाजनको बेला आइपुग्दा नेपालसँग रहेका दोस्रो र तेस्रो पुस्ताका प्रभावशाली नेताहरु रहेनन् । पार्टीभित्रको अन्तरसंघर्षमा माधव नेपालका मुख्य भरोसा बन्दै आएका देशब्यापी प्रभाव भएका नेताहरु किन विभाजनमा गएनन् ?

उनीहरु अझै पनि एमाले एकताको पक्षमा क्रियाशील हुने भनिरहेका छन् । तर दल नै अर्को बनिसकेपछि उनीहरुको एकता अभियान ठहराबमा पुगेको छ । अब दश बुँदे सहमति अनुसार एमालेमा सक्रिय हुने कि माधव नेपालको पार्टीमा लाग्ने ? हाल माधवको पार्टी विभाजनमा साथ नदिएका नेताहरुसँग दुई विकल्पमात्र छन् ।

नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यमध्ये वेदुराम भुसाल र मुकुन्द न्यौपानेले मात्र उनलाई साथ दिएका छन् । युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुजी पन्त र अमृत कुमार बोहोराले नेपालको साथ छाडेका हुन् ।

उपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी गठनमा हस्ताक्षर गरेनन् । यसअघि उनले पार्टी फुटाएमा साथ दिने बताएका थिए । नेता झलनाथ खनालको पनि आधिकारिक निर्णय आइसकेको छैन । नेपाल समूहले नयाँ दल दर्ता गर्दा नाम भएका प्रदीप नेपालले आफू कुनै पक्षमा नरहेको बताएका छन् ।

यस्तै नेताहरु ठाकुर गैरे, अरुण नेपाल, परशुराम मेघी, श्रीमाया थकाली, जीवन घिमिरे, टङ्क कार्की, ममता गिरी, यज्ञराज सुनुवार, सीता गिरी, नरेश खरेल, झपट रावल, कमलजंग राई दनुवार, गणेश पहाडी, प्रकाश शाह, माधव अर्याल, रचना खड्का, राजन राई, राजबहादुर बुढा, सुरेन्द्र मानन्धर, कृष्ण खनाल, हरिबहादुर राई, रविन कोइराला, केदार न्यौपाने, सोमप्रसाद पाण्डे र भानुभक्त जोशीले पनि नयाँ दल दर्ता प्रक्रियामा नेपालको साथ छाडेका छन् ।