नेपाल खेलकुद महासंघको सुनसरी जिल्ला भेला सम्पन्न – Nagarikabhiyan : National News

नेपाल खेलकुद महासंघको सुनसरी जिल्ला भेला सम्पन्न

नेपाल खेलकुद महासंघले सुनसरी जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न गरेको छ । आज दिउँसो आयोजित इटहरीको एक विशेष कार्यक्रममा यो भेला सम्पन्न भएको हो । सुनसरी संयोजक पुष्प कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, प्रदेश १ का इन्चार्ज प्रभात विक्रम कटवाल, प्रदेश संयोजक रोहीत कोइराला, स्थायी कमिटि सदस्य सुरेश कार्की, संहयोजक सन्तोश बान्तवना, भेषराज कार्की लगायतले आआफ्ना धारणा रखेका थिए । यो भेलाले संयोजकमा पुष्प कार्की, उपाध्यक्ष सविन कार्की, सचिव राजेन्द्र न्यौपाने सहितको ८१ सदस्यीय पदाधिकारी कमिटी पनि चयन गरेको छ । कार्यक्रममा सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले आफूहरुले यो संघलाई खेलकुदको क्षेत्रमा नमूना संघ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बस्नेतले खेल क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने यो संघले खेलकुदकै क्षेत्रमा विशेष काम गरे पनि आफूलाई पूर्ण रुपमा राजनीतिबाट अलग पनि नगराउने बताएका छन् । ‘नेकपा एमालेको संगठन हो, खेलकुद महासंघ,’ उनले भने, ‘नेपाली खेलाडीका सबै समस्या समाधान गर्न यो संघ सधैं तत्पर हुनेछ, खेलेर नेपाललाई विश्व चिनाउने खेलाडीहरुलाई जीवन यापनका लागि सहज वातावरण बनाउन पर्छ भन्ने हाम्रो उद्देश्य हुनेछ ।’ उनले खेलकुद महासंघको गठन भएसँगै नै खेलाडीहरुलाई सहज बनाउन काम गर्न थालिसकेको पनि बताएका छन् । ‘हामीले यसमा काम गर्न थालिसकेका छौँ,’ उनले कार्यक्रममा भने, ‘पार्टीले पनि यसमा सहयोग गरेको छ ।’ कार्यक्रममा महासंघका अध्यक्ष रमेश पौडेलले आफूहरु खेलाडीको पक्षमा सधैं उभिने र खेलाडीको जीवनस्तर उकास्न प्रतिबद्ध हुने बताएका छन् । ‘हामी नेकपा एमाले जिन्दावाद पनि भन्छौँ,’ उनले कार्यक्रममा भने, ‘नेपाली खेलाडी जिन्दावाद पनि भन्छौँ ।’

उनले खेलकुद महासंघले देशभरका खेलाडीलाई कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउन आफूहरुले पहल गरिसकेको र यसमा सहजीकरण गरेर केही खेलाडीलाई भ्याक्सिन लगाएको पनि जानकारी दिएका छन् । यतिमात्र होइन, उनले ट्रमा सेन्टरमा पनि आफूहरुले निःशुल्क खेलाडीको उपचारको व्यवस्था मिलाएको जनाएका पनि छन् । ‘जीवनभर देशका लागि खेलेका खेलाडीलाई गर्व गर्ने अवस्थामा हामी पुर्याउछौँ,’ उनले भने ।