सुशासनमा कम्जोर सुनसरी – Nagarikabhiyan : National News

सुशासनमा कम्जोर सुनसरी

सुनसरीको इटहरी उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमका सरोकारबालाहरुले सुनसरीमा सुशासनको अवस्था नाजुक रहेको बताएका छन् ।
विकासमा जनसहभागिता नभएकाले सुशासनको अवस्था नाजुक बन्दै गएका नागरिक समाजका प्रतिनिधिले बताएका छन् । शुक्रबार सम्पन्न ‘ नागरिक समाज सल्लाहकार समुहको जिल्लास्तरीय सुशासन बैठक’ मा उनीहरूले कानुन कार्यान्वयनमा जटिलता देखिएको र विकासको नाममा बेथिति बढेको बताए । ‘देश संघीयतामा गए पनि संघीयताको भावनाअनुसार काम नहुँदा जनतामा निराशा बढेको छ,’ नागरिक समाज सल्लाहकार समुह सुनसरीका अध्यक्ष मेघराज न्यौपानेले भने, ‘एकातिर बनेका कानुन कार्यान्वयन भएका छैनन् भने अर्कोतिर कानुन निर्माणमा पनि अवरोध देखिएका छन् ।’ महिला, दलित र पिछडिएको क्षेत्रमा सुशासनको अवस्था झन् नाजुक रहेको उनले बताए । समाजका कुरीति हटाउन तीनै तहका सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताए । अधिकारकर्मी रमेश भट्टराईले आर्थिक सुशासन प्रवर्द्धनका लागि विकास योजनाहरूको प्रभावकारी अनुगमन गरिनुपर्ने बताए । उनले संविधानमा उल्लिखित अधिकार प्रयोग गर्न नपाउँदा प्रदेश र स्थानीय स्तरमा सुशासनको अवस्था कमजोर रहेको बताए । कार्यक्रममा अधिकारकर्मी सरिता कार्की घिमिरेले केही कानुन नबन्दा र केही महत्वपूर्ण कानुन निर्माण भएर पनि कार्यान्वयमा नआउदाँ सुशासन कम्जोर भएको बताईन । ‘संविधानमा प्रदेशको आन्तरिक सुरक्षा प्रदेशको हुने भनिएको छ, तर हाम्रो प्रदेशको मातहत प्रहरी छैन,’ उनले भने, ‘कानुन पालना गराउने प्रमुख अंग नै प्रदेश सरकारसंग नभएपछि सुशासनका लागि कसरी काम गर्ने ?’ भन्ने कुरा पनि उठेको सुनाईन । मेघराज न्यौपानेको संयोजकत्वमा जिल्लस्तरीय नागरिक सरोकार सल्लाहकार समूह तथा सुशासन सञ्जालले लुज फोरमको रुपमा काम गर्दै आएको छ । सुशासनको प्रवद्र्धनका लागि नागरिकस्तरबाट खबरदारी गर्ने समूहले अझै सकृय भएर लाग्नुपर्ने न्यौपानेले बताए ।