दक्षिणी सीमामा थप २२ सय सशस्त्र प्रहरी परिचालन – Nagarikabhiyan : National News

दक्षिणी सीमामा थप २२ सय सशस्त्र प्रहरी परिचालन

काठमाडौं । सीमा सुरक्षा र सीमावर्ती अपराध नियन्त्रणका लागि भारतसँगको सीमानाकामा थप दुई हजार २०० सशस्त्र प्रहरी खटाइएको छ । गृह मन्त्रालयको निर्देशनमा सशस्त्र प्रहरीले पहाडी जिल्लामा कार्यरत प्रहरीलाई सीमामा खटाएको हो । नयाँ सरकार बनेलगत्तै सीमामा केन्द्रित हुन सशस्त्र प्रहरीलाई निर्देशन दिइएको थियो ।

सोहीअनुसार अस्थायी रूपमा सीमामा परिचालन बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । तीन हजार जनशक्ति सीमानाकामा थप्ने योजना रहेको र हालसम्म दुई हजार २०० लाई परिचालन गरिसकिएको सशस्त्रका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले बताए ।

पहाडी जिल्लाका गण र गुल्ममा कार्यरत सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा पट्रोलिङमा खटाइएको छ । सीमा सुरक्षाका साथै तस्करी नियन्त्रण तथा सीमा अपराध रोकथामको उद्देश्यले नाकामा सशस्त्र प्रहरी  बढाइएको प्रवक्ता भट्टले बताए । यसअघि सीमामा ६ हजार पाँच सय सशस्त्र प्रहरी खटिएकोमा अब ८ हजार सात सय पुगेको छ । नयाँ पत्रिकाबाट