विराटनगरको विभिन्न संरक्षण गृहमा आश्रितलाई खोप लगाउन शुरु – Nagarikabhiyan : National News

विराटनगरको विभिन्न संरक्षण गृहमा आश्रितलाई खोप लगाउन शुरु

विराटनगर । प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई आजदेखि जोनसन एण्ड जोनसन खोप लगाउन शुरु गरिएको हो ।

अभियानको सामाजिक विकास मन्त्री उषाकला राईले आज शुभारम्भ गरिन् ।सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई उद्धार गरि राखिएको विराटनगर १० को मानव सेवा आश्रमबाट अभियानको शुरुवात गरिएको हो । खोप अभियान शुरुवात गर्दै सामाजिक विकास मन्त्री राईले सडक आश्रित तथा सहयोगापेक्षीहरु सम्पूर्णलाई कोभिड १९ विरुद्धको खोप लगाईने बताइन् ।

मानव आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुको सवैलाई खोप लगाईने उनले बताइन् । मन्त्री राईले भनिन्,‘ अपाङ्गता भएका तथा अशक्त सवैलाई अभियानमा समेटिने छ ।’ लक्षित समूहले खोप लगाईरहेपनि संरक्षण गृहमा आश्रितहरुले खोप लगाउन नपाएको थाहा भएलगत्तै अभियान शुरुवात गरिएको मन्त्री राईले बताइन् ।

आज ३ सय बढीलाई खोप लगाइएको छ । मानव सेवा आश्रममा, प्रदेश सरकारद्धारा सञ्चालित दीर्घकालीन पुर्नस्थापना गृह, ओरेक, माइती नेपाल र एबीसीको संरक्षणमा रहेकाहरुलाई आज खोप लगाइएको छ ।