आफ्नै क्याबिनेटका मन्त्रीले केपी ओलीको मानसिक अवस्था ठीक छैन भनेपछि संसदमा भयो हङ्गामा
२८ श्रावण २०७८, बिहीबार १६:३४
काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद मातृका प्रसाद यादवले नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक र भौतिक अवस्था ठीक नभएको गम्भीर आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले ओलीमाथि गम्भीर आरोप लगाएका हुन्। उनी ओली सरकारमै मन्त्री भएका व्यक्ति हुन्।
ओलीसहितका एमाले सांसदहरुले दोस्रो पटक पुन:स्थापित संसद र शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशबाट आएको बताइरहेका बेला यादवले आक्रोश पोखेका हुन्।
‘जे पनि बोल्न पाइन्छ यहाँ? मैले एउटै पार्टी (नेकपा) हुँदा भनेको थिएँ’, उनले नेकपा हुँदै प्रचण्डलाई दिएको सुझावबारे भने, ‘उहाँ (केपी शर्मा ओली) चाहिँ मानसिक र भौतिक रुपमा ठीक हुनुहुन्न, कुनै बेला दुर्घटना हुन सक्छ।’
यादवले ओलीको अवस्था मानसिक र भौतिक रुपमा ठीक नभएकाले नेकपा र सरकारको बोझ बोकाउन ठीक नहुने कुरा आफूले उतिबेलै बताएको स्मरण गरे।
‘ओलीको दुवै अवस्था ठीक छैन, यो बोझ किन बोकाउने? जहाज उडाउँदा मेडिकल चेक हुन्छ’, उनले भने, ‘यस्तो मान्छेलाई देशकै जहाज उडाउन दिँदा किन दुर्घटना हुँदैन? पार्टीकै जहाज उडाउन दिँदा किन दुर्घटना हुँदैन?’
उनले ओलीकै कारण लगभग दुईतिहाइको कम्युनिष्ट सरकार ढलेर गठबन्धनको सरकार बनेको बताए। ‘यो गठबन्धन अप्राकृतिक अनुचित अपवित्र रे! आन्दोलनमा पनि गठबन्धनबाट भएको हो’, उनले भने, ‘जसले संसद विघटन गरे उही आएर बोल्छन् सानले फेरि। सुगा रटान जस्तो परमादेश परमादेश परमादेश। जसको दिमाग बिग्रिएको छ, उसले भन्छ परमादेश, सबैको त बिग्रिएको छैन नि!’
एमालेको आपत्ति
ओलीबारे यादवले आपत्तिजनक टिप्पणी गरेपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नियमापत्ति गरे। उनले कसैको स्वास्थ्यबारे संसद जस्तो गरिमामय ठाउँमा यस्ता आपत्तिजनक टिप्पणी हुनु शोभनीय नभएको बताए।
‘संसदमा बोल्नेले कसैलाई इंगित गरेर मानसिक रुपमा खराब भनेको कसरी? त्यो भन्ने अधिकार उहाँमा कहाँ छ?’, उनले भने, ‘के तथ्यका आधारमा उहाँले भन्नु भएको छ? प्रत्येक सदस्यले एकअर्काकोबारे यसरी बोल्न मिल्छ कि मिल्दैन?’
उनले यादवको अभिव्यक्ति अमर्यादित र आपत्तिजनक रहेको पनि बताए। भट्टराईले यादवको अभिव्यक्तिको उक्त अंश संसदको रेकर्डबाट हटाउन पनि माग गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया