स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठकै अस्पतालले तिरेन कर
२४ श्रावण २०७८, आईतवार १५:०९
काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पतालले पनि कर नतिरेको पाइएको छ । काठमाडौं महानगरपालिकाले कर नतिर्ने सूची सार्वजनिक गर्दा उक्त अस्पतालले पनि कर नतिरेको पाइएको हो । महानगरले आज प्रकाशित गरेको सूचीमा राज्यमन्त्री श्रेष्ठको अस्पतालको नाम २३औं नम्बरमा रहेको छ।
महानगरले कर नतिर्ने ५२ करदाताहरुको सूची आज प्रकाशित गरेको हो। महानगरको यो सूचीमा अजयराज सुमार्गी पराजुली पनि रहेका छन्। व्यवसायी सुमार्गीको नाम ४९ औं नम्बरमा रहेको छ।
महानगरले धेरै अघिदेखि कर उठाउन ताकेता गर्दासमेत असुल नभएपछि सार्वजनिक सूचना जारी गरेको हो। महानगरले उनीहरुलाई कर तिर्न ३० दिनको अल्टिमेटम दिएको छ।
कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया