मेलम्चीमा एक्कासि ठूलो बाढी : चनौटेको रातो पुल बगायो, रेडियो मेलम्चीको भवन पनि ढल्यो
१७ श्रावण २०७८, आईतवार ११:३०
सिन्धुपाल्चोकको मेलम्चीमा गए रातिदेखि आएको बाढीले धेरै भौतिक संरचनामा क्षति गरेको छ। शनिबार राति करिब साढे ९ बजेदेखि मेलम्चीमा एक्कासि ठूलो बाढी आएको हो । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७:४५ बजे चनौटेको रातो पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले गएराति नै तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट बच्न सतर्कता अपनाउन भन्दै सूचना गरेको थियो। हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएपछि एक्कासि ठूलो बाढी आएको प्रारम्भिक अनुमान गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।
पोखरेलले भने, ‘अरु केही झोलुंगे पुल र घरहरु पनि बाढीले बगाएको छ। बाढी निकै ठूलो छ। यसअघिको बाढी पसेका मेलम्ची बजारका धेरै घर बाढीमा डुबेका छन्। त्यहाँ मानिस नबसकेका कारण मानवीय क्षति हुन पाएको छैन।’
हिमाली क्षेत्रमा हिमताल फुटेर वा पहिरोले थुनिएको नदी एक्कासी खोलिँदा ठूलो बाढी आएको हुनसक्ने पोखरेलले बताए। यसअघि गएको असार १ गते मेलम्ची र हेलम्बुमा बाढी पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो। मेलम्चीको बाढीमा हराइरहेका २० जना अझै फेला परेका छैनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया