बकर इदको अवसरमा रमाइलो गर्न गएका पाँच किशोरको नहरमा डुबेर मृत्यु – Nagarikabhiyan : National News

बकर इदको अवसरमा रमाइलो गर्न गएका पाँच किशोरको नहरमा डुबेर मृत्यु

जनकपुरधाम । बकर इदको अवसरमा रमाइलो गर्न गएका पाँच किशोरको नहरमा डुबेर मृत्यु भएको छ । बाँकेमा तीन जना र चितवनमा दुई जना गरी पाँच किशोरको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकेको नेपालगञ्जबाट कोहलपुर गएका तीन युवाको कोहलपुर नगरपालिका १० चटारस्थित डुडुवा खोलामा रहेको नहरमा डुबेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–११ श्रृष्टि हल नजिक बस्ने १६ वर्षीय अरिब जसगढ, सोही ठाउँका १७ वर्षीय अरमान जसगढ र सदरलाइन बस्ने १८ वर्षीय रासिद जसगढको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो स्थानबाट अन्य दुई जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरि चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको पनि नहरमा डुबेर मृत्यु भएको छ ।

बुधबार करिब चार बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अंकित पनि बगेका थिए ।

उनीहरु नहरमा बेपत्ता भएको खबर पाएपछि प्रहरीले खोजी गर्दा २०० मिटर पर नहरबाट उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो ।

अस्पतालमा उपचारका क्रममा उनीहरुको साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।