आज बीपी स्मृति दिवस – Nagarikabhiyan : National News

आज बीपी स्मृति दिवस

काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३९ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नेपाली काँंग्रेसले १४औँ महाधिवेशन तयारी गरिरहँदा यो दिवस जिल्लाको स्थानीय परिस्थितिअनुसार मनाउन परिपत्र गरेको जानकारी कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए ।

नेपाली काँग्रेसका संस्थापक कोइराला १९७१ भदौ २४ गते जन्मीएका थिए भने कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो । राजनीतिमा बीपी’ र नेपाली साहित्यमा विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक थिए । उनले राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राखे ।

राणा शासनको अन्त्यसँगै ३६ वर्षको उमेरमा गृहमन्त्री बनेका कोइराला २०१५ सालको आमनिर्वाचनमा नेपाली कांँग्रेसले दुई तिहाइ स्थान प्राप्त गरेपछि उनी पहिलो निर्वाचित प्रधानमन्त्री भए ।

उनले जनतालाई सर्वोपरि राखेर गरेको राजनीतिबाट तत्कालीन राजा महेन्द्रलाई सह्य भएन निर्वाचित सरकारलाई अपदस्त गरी प्रधानमन्त्री बीपीलगायतका नेतालाई सेनाको बलमा आठ वर्ष बन्दी बनाइयो । त्यसपछि उनी आठ वर्ष प्रवास र फेरि स्वदेश फर्केर पञ्चायतविरुद्ध लड्दा कठोर काराबास र सघर्षमै उनको जीवन बित्यो

मानिस ठूलो होइन असल बन्नुपर्छ’ भन्ने मान्यताबाट अगाडि बढ्नु भएका बीपीले चाहेको भए जीवनभर जस्तै प्रधानमन्त्री बन्नु सक्थे । तर उनले सत्ताभन्दा निष्ठा, आदर्श र त्यागको राजनीति गरे । सत्तामा रहेको नेपाली कांग्रेसले बुधबार ७७ वटै जिल्लामा कार्यक्रम गर्दैछ ।

र्याली, सभा, गोष्ठीदेखि लिएर वृक्षारोपण लगायतका कार्यक्रमहरु गरिन लागेको हो । यता, काठमाडौंमा केन्द्रीय प्रचारप्रसार विभागले गर्ने कार्यक्रममा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने मुख्यसचिव पौडेलले बताए ।