चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीको पाँच सुझाव
४ श्रावण २०७८, सोमबार १७:५३
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले नयाँ सरकारलाई पाँच बुदे सुझाव दिएका छन् ।
नयाँ सरकार गठन भएसँगै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्याहरू तथा तिनको समाधानका लागि तत्काल, मध्यमकाल र दीर्घकालमा गर्नुपर्ने कामहरूबारे डा. केसीले सुझाव दिएका हुन् ।
डा.केसीले विज्ञप्तिमार्फत् विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चलिरहेको आन्दोलनका सबै मागहरू पूरा गरेर संस्था सुधारलाई अघि बढाउन पनि उनको सुझाव छ । ‘त्यसका लागि जालसाजी र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरूलाई तत्काल पदमुक्त गरिपर्ने र कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा निष्पक्ष रूपमा पदाधिकारी मापदण्ड निर्धारण कार्यदलको सिफारिस अनुसार नयाँ पदाधिकारी नियुक्त गर्नुपर्ने’, उनले विज्ञप्तिमा भनेका छन् । त्यसका लागि तत्काल कानुनी व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
पूर्ववर्ती सरकारको संरक्षणमा रहेर चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्न खोज्ने तथा आफ्नो अभियानका सदस्यलाई भौतिक आक्रमणको धम्की दिने व्यक्तिलाई कानुन अनुसार कारबाही गर्न पनि केसीको माग छ । २०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पु¥याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश २ र गण्डकी प्रदेशमा पनि तदारूकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिनुपर्ने उनले माग गरेका छन् ।
साथै केसीले आफूसँग सम्झौता भएबमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोलिनुपर्ने बताएका छन् । चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार सार्वजनिक शिक्षण संस्थाका रूपमा रहेका नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालय मेडिकल स्कुलमा तत्काल सोही ऐन अनुसार ७५ प्रतिशत छात्रवृत्ति कायम गर्नुपर्ने उनको माग छ ।
काठमाडौं विश्वविद्यालयको विस्तारित कार्यक्रम रहेका कलेजहरूमा समेत सो प्रावधान लागू हुनुपर्ने उनले भनेका छन् । नेपालमा मेडिकल माफियाहरूले सत्ता फेरिएसँगै नयाँ सरकारलाई आफ्नो प्रलोभनमा पार्ने गरेको औंल्याउँदै त्यसबाट सचेत रहन सरकारलाई सुझाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया