निःशुल्क प्राप्त हुने औषधि मेडिकलमा किन्न बाध्य
३ श्रावण २०७८, आईतवार १२:५३
परासी । कोरोना कहरमा पृथ्वीचन्द्र जिल्ला अस्पतालमा आइसोलेसन बनाउन प्रशासनले निकै कसरत गर्नुपर्यो । अस्पताल प्रशासनले कोरोना संक्रमित बिरामी भर्ना भएमा ओपीडी बन्द गर्ने भनेपछि केही दिन संक्रमित सामान्य समस्यामा पनि बुटवल र जिल्लाकै अन्य अस्पताल जानुपर्ने बाध्यता आयो । पछि जिल्ला र प्रदेशबाट दबाब आएपछि बल्ल संक्रमितको उपचार सुरु भयो । जिल्लामा कोरोना परीक्षणका लागि जिल्लावासी हृदयेश त्रिपाठी स्वास्थ्यमन्त्री हुँदा पीसीआर मेसिन केन्द्रबाट प्राप्त भयो । अस्पताल प्रशासनले नै माग गरेको पीसीआर मेसिन चलाउन स्थान अभाव भएको भन्दै तीन महिनादेखि मेसिन थन्कियो । मेसिन सञ्चालन हुन नसकेपछि तत्कालीन स्वास्थ्यमन्त्री त्रिपाठीले अस्पताल प्रशासनको काम चित्तबुझ्दो नभएको भन्दै सार्वजनिक कार्यक्रममा नै असन्तुष्टि पोखे । त्यसपछि अहिले बल्ल पीसीआर मेसिन राख्ने भवन निर्माण हुँदै छ ।
सरकारी अस्पतालमा निःशुल्क प्राप्त हुने औषधिको अभाव भन्दै बिरामी निजी क्लिनिकमा औषधि किन्न बाध्य छन् । तर, अस्पताल प्रशासनले लाखौं मूल्य पर्ने औषधिको म्याद गुज्रिएको भन्दै नष्ट गर्ने तयारी गरेको छ । यसविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले विरोध गरेर प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र नै बुझाएपछि यसको छानबिन हुँदै छ । ‘जिल्ला अस्पतालमा धेरै बेथिति देखियो, गरिब बिरामीले औषधि नपाएर ऋण गरेर बाहिरी क्लिनिकबाट किन्नुपरेको छ,’ मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले भने, ‘यता अस्पतालले भने म्याद सकिएको भन्दै लाखौं मूल्यका औषधि नष्ट गर्न खोजेको छ । यसको छानबिन हुनुपर्छ ।’
अस्पताल प्रशासनले भने कोरोना कहरका कारण यस वर्ष ओपीडीमा बिरामी कम आएको र आवश्यकताभन्दा बढी औषधि आएकाले म्याद सकिएपछि नष्ट गर्न लागेको बताउँदै आएको छ । ‘जिल्ला स्वास्थ्य कार्यालयले अन्तिम समयमा औषधि पठाएको र कोरोनाका कारण ओपीडीमा बिरामी कम आएका कारण औषधि नष्ट गर्नुपर्ने अवस्था आएको हो,’ अस्पतालका अध्यक्ष जगदीश चौधरीले भने, ‘हामीले नियतवश गरेका होइनौं । बिरामीको चापअनुसार काम भइरहेको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया