सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि
३० असार २०७८, बुधबार १९:५७
काठमाडौँ । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाएको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।
यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीसाधनको २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको २० प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशत भाडा बृद्धि गरेको हो ।
यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको यातायात व्यवस्था विभागका एक अधिकारीले जानकारी दिए । विभागको असार २९ गते बसेको बैठकले भाडादर समायोजन गरेको हो । मंगलबारदेखि लागु हुने गरी भाडादर बढाइएको छ ।
‘सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा यस विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरुसँग गरिएको परामशए समेतका आधारमा पहिचान गरिएका यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफालगायतका मुख्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडा वृद्धि गरिएको हो,’ सूचनामा लेखिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया