विजयकुमार गच्छदार दश लाख धरौटीमा रिहा
३० असार २०७८, बुधबार १९:२३
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई विशेष अदालत काठमाडौंले दश लाख धरौटीमा रिहा गरेको छ ।
बालुवाटारको सरकारी जग्गा कीर्ते प्रकरणमा तानिएका गच्छदारलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
गच्छदारविरुद्ध परेको मुद्दामा विशेष अदालतले उक्त आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।
गच्छदारविरूद्धको मुद्दामा थुनछेक बहस सकिएपछि बुधबार विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उक्त आदेश दिएको हो ।
लामो समयदेखि फरार रहेका गच्छदार बुधबार बिहान अदालतमा उपस्थित भएका थिए । बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गर्ने काममा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने कार्य गरेको आरोप उनीमाथि थियो ।
गच्छदारको तर्फबाट वरिष्ठ अधिवक्ताहरु महादेव यादव, हरिहर दाहाल, कृष्णप्रसाद सापकोटा, अधिवक्ता ललित बस्नेत र मधुर पाठकले बहस गरेका थिए ।उनीहरुले विभागीय मन्त्रीका हिसाबले फाइल मन्त्रिपरिषदमा पेसमात्रै गरेको भन्दै गच्छदारको बचाउ गरेका थिए । मन्त्रिपरिषदमा प्रस्ताव मात्रै लगेको र भ्रष्टाचारको कसुर नगरेको उनीहरुको जिकिर थियो ।
गच्छदारलाई धरौटी लिने वा थुनामा पठाउने काम नगर्न गच्छदारको तर्फबाट बहसमा सहभागी वकिलहरुको माग थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया