योगी आदित्यनाथलाई प्रधानमन्त्रीको जवाफ–‘नेपाल हेपिन तयार छैन’
२८ जेष्ठ २०७७, बुधबार १६:५६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई नहेप्न भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई स्मरण गराएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले मुख्यमन्त्री आदित्यनाथले नेपालको बारेमा दिएको अभिव्यक्ति निन्दनीय र आलोच्य भएका बताएका हुन् ।
‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यसरी बोल्नु भएको भए त्यो जायज होइन । यदि उहाँले नेपाललाई धम्काउन खोज्नु भएको हो भने उचित होइन ।’ प्रधानमन्त्री ओलीले भने–‘उहाँ मुख्यमन्त्रीका हिसाबले यदि त्यस्तो बोलेको हो भने बोल्नु भएको हो भने आलोच्य विषय हो । यदि उहाँले नेपाललाई धम्क्याउन खोज्नु भएको हो भने त्यो निन्दनीय विषय हो । त्यसलाई नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैन । हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।’
केही दिनअघि उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपाल–भारत सीमा विवादबारे विवादित अभिव्यक्ति दिएका थिए । भारतीय समाचार संस्थाहरुसँगको अन्तर्वार्तामा मुख्यमन्त्री योगीले ‘नेपाललाई तिब्बतले जस्तै गल्ती नदोहोर्याउन’ चेतावनी दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया