विमलेन्द्र, शशांक र प्रकाशमानले गरे लञ्च मिटिङ – Nagarikabhiyan : National News

विमलेन्द्र, शशांक र प्रकाशमानले गरे लञ्च मिटिङ

काठमाडौं । महाधिवेशनको रौनक लागेको नेपाली काँग्रेसका तीन शीर्ष नेताहरु आज पनि भेट गर्नुभएको छ ।

उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह मंगलबार लञ्च मिटिङ गर्नुभएको हो ।

निर्वाचनमा सकेसम्म सहमति गरेर देउवाको विकल्प दिनेगरी सहमति गर्न खोजिरहेका यी तीन नेताहरुले आज दिउँसो सिंह निवास चाक्सीबारीमा लञ्चसहित छलफल भएको हो ।

छलफलबारे जानकारी दिदै डा. कोइरालाको सचिवालयले भनेको छ, ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशन र समसामयिक राजनीतिक विषयमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच चाक्सीबारीमा छलफल ।’

कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतात्रय निधि, कोइराला र सिंहबीच लञ्च मिटिङले निरन्तरता पाएको हो ।

आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी तीनै जनाले सहमतीमा नेतृत्व चयन गर्ने गरी छलफललाई निरन्तरता दिनुभएको छ ।

कांग्रेसमा पारिवारिक लिगेसी बोकेका निधि, कोइराला र सिंहबीचको निरन्तरको छलफलले पार्टीभित्र तरंग ल्याएको छ ।ज्योतिन्यूजमा छ । शशांक कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा हुनुहुन्छ भने विमलेन्द्र महेन्द्रनारायण निधिका र प्रकाशमान गणेशमान सिंहका छोरा हुनुहुन्छ ।

पार्टीभित्र फरक गुटमा रहेका शशांक, विमलेन्द्र र प्रकाशमानको निरन्तरको छलफललाई कतिपयले नयाँ समीकरण निर्माणका रुपमा पनि लिने गरेका छन् । निधि संस्थापक समूहमा हुनुहुन्छ भने कोइराला र सिंह संस्थापनइतर समूहका नेता हुनुहुन्छ ।