कोरोनाबाट मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापनमा समस्या – Nagarikabhiyan : National News

कोरोनाबाट मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापनमा समस्या

पोखरा । कोरोनाभाइरस (कोभिड–१९)बाट मृत्यु भएका पुरुषको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा अलपत्र परेको छ ।

आइतबार कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० वर्षीय पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

शव बोक्नका लागि हालसम्म कुनै चालक तयार नभएपछि नेपाली सेनाको टोली तीन पटक अस्पताल पुगेर फर्किएको छ ।

कोरोनाबाट मृत्यु भएकाको शव जलाउनु पर्ने भए पनि जातीय संस्कारअनुसार गाड्नु पर्ने भएकोले हालसम्म घाटको टुंगो समेत लाग्न सकेको छैन ।

पोखरा महानगरपालिकाले वडा नं ११ सेती नदीको किनार रिठ्ठाघाटमा गाड्ने भने पनि सहमति जुट्न सकेको छैन । सेनाले उक्त घाटमा एक्स्काभेटरको सहायताले खाल्डो खनेर ठिक्क पारेको छ । तर, पोखरा महानगरका ११ र २० नंम्बर वडाका स्थानीयले उक्त घाटमा शव गाड्न नदिने बताएका छन् । ११ का वडाध्यक्ष मोहन बाँस्तोलाले अस्पताल नजिकै रामघाट हुँदाहुँदै अन्यत्र गाड्न लागिएकोमा आफ्नो असहमति रहेको बताए ।

महानगरले भने रामघाटमा बालुवा चाल्ने मजदुरहरु धेरै रहेकोले अन्यत्र शव व्यवस्थापन गर्न लागिएको बताएको छ । यसअघि पोखरा १५ को हरियोखर्कमा गाड्ने सहमति नजुट्दा ११ को रिठ्ठाघाटमा लैजाने तयारी गरेको हो ।

मृतकका श्रीमती र छोरी अन्तिमपटक शव हेर्नका लागि अस्पताल परिसरमै दुई घन्टादेखि एम्बुलेन्समै बसिरहेका छन् ।

यता शव भएको आइसोलेसन वार्डमा थप तीन जना कोरोना संक्रमित छन् ।