सहकारीमार्फत गरिबीको अन्त्य गर्नुपर्छ : मुख्यमन्त्री शाही – Nagarikabhiyan : National News

सहकारीमार्फत गरिबीको अन्त्य गर्नुपर्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहकारीमार्फत गरिबीको अन्त्य गरिनुपर्ने बताएका छन् । भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय सुर्खेतले आयोजना गरेको ‘सहकारीमार्फत कर्णालीको गरिबी न्यूनिकरण गर्न सहकारीले खेल्नुपर्ने भूमिका’ विषयक भर्चुअल अन्तर्क्रियामा मुख्यमन्त्री शाहीले उक्त कुरा बताएका हुन् ।

सहकारीहरूको सम्भावनाको अध्ययन गरेर प्रदेश सरकारले काम गर्ने शाहीले बताए । ‘जनताको आयश्रोत बढाएर मात्र हुँदैन सहि ठाउँमा सदुपयोग गरेर त्यसलाई बजारीकरण गर्न पनि खाँचो छ,’ उनले भने, ‘वर्षभरी मेहनत गर्ने अनि बजार नपाएर कुनै पनि सामान कुवाउने अवस्था अब आउँदैन सरकारले सहकारीलाई साथमा लिएर किसानहरुको परिश्रमलाई खेर जाने दिने छैन ।’

सहकारीहरूले राम्रो काम गरेका छन् वा छैनन् त्यसबारेमा सरकारले राम्रो निगरानी गर्ने र सहकारी नितिलाई संसोधन गरेर भए पनि सहकारी मार्फत गाउँका साना किसानहरुलाई सरकारसँग जोड्ने नीति लिएको उनले बताए ।

‘कर्णाली प्रदेश सरकारले कर्णालीलाई गरिबीबाट मुक्त गरी नागरिहरुलाई रोजगारी दिने लक्ष्यका साथ बजेट ल्याएको छ,’ उनले भने, ‘अब आउने दिनहरुमा कर्णालीमा सहकारीहरुले कस्तो भूमिका खेल्छन् त्यो हेर्न बाँकी छ ।’

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाहीले कर्णाली प्रदेश सरकारले यो आर्थिक वर्षमा सबैभन्दा बढी बजेट सहकारीमा छुट्याएको भन्दै राम्रा कामको प्रसार प्रसार गर्न जरुरी भएको बताए ।