कोठा नदिएको अभियोगमा पक्राउ घरधनी सरस्वती प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ आफै पुगे – Nagarikabhiyan : National News

कोठा नदिएको अभियोगमा पक्राउ घरधनी सरस्वती प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ आफै पुगे

काठमाडौं। रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरधनी सरस्वती प्रधानलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफै पुगे । उनको रहोवरमा प्रधानलाई आज छाडिएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारमा मन्त्री श्रेष्ठ पुगेपछि रहोबरमा छाडिएको थियो । दलित भएकै कारण कोठा नदिएको उजुरी रुपाले दिएपछि प्रधान पक्राउ परेकी थिइन् ।

घरधनी सरस्वती प्रधानको रिहाईको माग गर्दै हिजो प्रदर्शन समेत भएको थियो । दलित अधिकारकर्मीहरुले भने प्रधानलाई छाड्न नहुने भन्दै दबाब दिइरहेका थिए ।

घरधनी प्रधान नेवार समुदायकी हुन् । काठमाडौं उपत्यकामा यो समुदायको बाहुल्य र प्रभाव छ । श्रेष्ठ पनि नेवार समुदायका हुन् । श्रेष्ठ नेवार समुदायको बाहुल्य रहेको क्षेत्रबाट चुनाव जितेका थिए ।

प्रधानलाई कोठा नदिएको आधारमा जातीय अवहेलना गरेको अभियोग लागेको थियो । नेवार समुदायको प्रधानप्रति सद्भाव बढ्दै गएको थियो । यही सेन्टिमेन्ट जित्न पनि श्रेष्ठ आफै अघि सरे । उनले प्रधानलाई छुटाउन भूमिका खेले । रहोबरमा छुटाउन आफै पुगे ।