१८ दिनमै कामचलाउ सरकारका २० मन्त्रीको पद चैट
८ असार २०७८, मंगलवार १७:०८
काठमाडौँ । सर्वाेच्च अदालतको अन्तरिम आदेशसँगै कामचलाउ सरकारका २० मन्त्री पदमुक्त भएका छन् । नियुक्ती पाएको १८ दिनमै उनीहरुको पद गुमेको हो ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय अवैध भनेको छ । सर्वाेच्चले आजको आदेश मार्फत कामचलाउ सरकारले मन्त्रिपरिषद विस्तार गर्न नपाउने स्पष्ट सन्देश दिएको छ ।
आदेशमा कामचलाउ भइसकेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न नपाउने उल्लेख छ। ‘…प्रतिनिधि सभा विघटन भएको विशेष परिस्थितिमा प्रधानमन्त्रीको अध्यक्षतामा जे जुन अवस्थाको मन्त्रिपरिषद् छ त्यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ भनी स्पष्ट रुपमा किटानीका साथ उल्लेख भइरहेको पिरप्रेक्ष्यमा तत्काल कायम रहेका प्रधानमन्त्रीले अन्य सामान्य अवस्थाको प्रधानमन्त्रीले जस्तो मन्त्रिपरिषद् विस्तार गर्ने, थप गर्न सक्ने भनी संविधानको कुनै पनि धारामा उल्लेख नभएको र धारा ७७(३) ले साविककै मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने भनी किटान गरिरहेको अवस्थामा प्राइम फेसी रुपमै मन्त्रिपरिषद्को विस्तार गर्ने वा थप गर्ने अधिकार प्रधानमन्त्रीमा रहेको देखिँदैन,’ सर्वोच्चको आदेशमा भनिएको छ।
ओलीले जेठ २७ गते सात मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए। त्यसअघि जेठ २१ गते ओलीले जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए। सोही दिन एमालेबाट तीन जना मन्त्री थपिएका थिए।
प्रधानमन्त्री ओली कामचलाउ भइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै सर्वोच्चले यी दुवै पटक गरेका मन्त्रिपरिषद् विस्तार खारेज गरिदिएको छ। सर्वोच्चको अन्तरिम आदेशसँगै १७ मन्त्री र ३ राज्यमन्त्रीको पद गुमेको छ भने प्रधानमन्त्रीसहित ५ जनाको मात्रै मन्त्रिपरिषद् बाँकी रहेको छ।
२० जना नयाँ मन्त्रीहरुलेको पद २८ दिनमै गुमेको छ भने अब प्रधामन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ मन्त्रिपरिषद्मा बाँकी रहेका छन्। प्रधानमन्त्री ओलीले यसअघिदेखि नै रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालदै आएका छन्।
यसरी एक महिना पनि काम गर्न नपाउने मन्त्रीहरुमा
खगराज अधिकारी गृह,
रघुबीर महासेठ परराष्ट्र,
राजेन्द्र महतो सहरी विकास,
शरतसिंह भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाई
अनिलकुमार झा, खानेपानी
शेरबहादुर तामाङ, स्वास्थ्य तथा जनसंख्या
राजकिशोर यादव, उद्योग, वाणिज्य तथा आपूर्ति
लक्ष्मणलाल कर्ण, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
नैनकला थापा, सञ्चार तथा सूचना प्रविधि
ज्वालाकुमारी साह, कृषि तथा पशुपंक्षी विकास
बिमलप्रसाद श्रीवास्तव, श्रम, रोजगार तथा सामाजिक विकास
उमाशंकर अरगरिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
चन्दा चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ, युवा तथा खेलकुद
नारद मुनि राना, वन तथा वातावरण
गणेशकुमार पहाडी, सङ्घीय मामिला तथा सामान्य प्रशासन
मोहन बानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
पद गुमाउने राज्यमन्त्री
चन्द्रकान्त चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाई
रेणुका गुरूङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
आशाकुमारी विक, वन तथा वातावरण
ज्योतिन्यूज बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया