बहुमतको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेर यादव पक्षले गर्‍यो जसपाको आधिकारिकता दाबी – Nagarikabhiyan : National News

बहुमतको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेर यादव पक्षले गर्‍यो जसपाको आधिकारिकता दाबी

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिको बहुमतको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको छ। निर्वाचन आयोगमा यादव र भट्टराई पक्षले शुक्रबार आधिकारिकताको दाबीसहित पत्र पेस गरेको हो।

पार्टी अध्यक्ष यादवले निर्वाचन आयोगलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को अनुसार आफूहरु नै जनता समाजवादी पार्टीको आधिरिक भएको दाबीसहित पत्र पेश गरेका हुन्। यादवले दलको नाम, दलको संक्षिप्त नाम, दल गठन भएको मिति, दल दर्ता भएको मिति, दर्ता नम्बर, केन्द्रीय कार्यसमितिबाट भएको निर्णय उल्लेख गरेर निर्वाचन आयोगलाई पत्र बुझाएका हुन्। यादवले पार्टी केन्द्रीय कार्यालय बालकुमारी रहेको पनि उल्लेख गरेका छन्।

उनीहरूले निर्वाचन आयोगमा पुगेरै आधिकारिकता दाबी गरेको नेता राजेन्द्र श्रेष्ठले बताए। ‘हामीले आयोग पुगेर ३० जनाको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेका छौं। बहुमत कार्यकारिणी समितिको हस्ताक्षर आयोगमा शशरीर उपस्थित भएर पेश गर्‍यौं,’ उनले भने। ५१ जना समिति सदस्यमध्ये उनीहरूले ३० जनासहितको दाबी आयोगमा पेश गरेका हुन्।

अध्यक्ष यादवले २०७८ जेठ ७ गते, २०७८ जेठ ८, २०७८ जेठ १७, २०७८ असार ३ गतेको बैठकमा महन्थ ठाकुर अनुपस्थित भएको, बैठकको सूचनालाई बेवास्ता गर्दै फरक सूचना जारी गरेर बैठक स्थगन गर्ने, पार्टीको दैनिक कामदेखि राजनीतिक जीवन ठप्प पारी दलको गतिविधिमा दुरगामी प्रभाव र क्षति हुने काम गरेको पनि उल्लेख गरेका छन्। यादवले बहुमत केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू आफ्नो पक्षमा रहेकाले विवाद उत्पन्न दलकै हैसियतमा मान्यता दिन पनि माग गरेका छन्। लोकपाटी बाट