९६ किलो गाँजासहित पाँच जना पक्राउ
२ असार २०७८, बुधबार २०:१८
मकवानपुर। मकवानपुरको हेटौंडाबाट ९६ किलो ४ सय ग्राम लागुऔषध गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्ग स्थित हेटौंडा उपमहानगरपालिका–१० मेनरोडबाट प्रहरीले उक्त परिमाणको लागुऔषध गाँजासहित कन्टेनर र पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका वडा नम्बर–६ का २५ वर्षीय सन्तोष आलेमगर, सोही ठाउँ बस्ने बर्ष २१ को मोसा घलान, कैलाश गाउँपालिका वडा नम्बर–८ भार्ता बस्ने वर्ष २४ का उमेश लामा, सोही स्थान बस्ने बर्ष २९ का रोशन मुक्तान र चितवन राप्ती नगरपालिका वडा नम्बर–२ बस्ने बर्ष ३१ का बिष्णु लामा रहेको प्रहरीले जनाएको छ ।
मंगलबार राती १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले ना.२ ख ५५७९ नम्बरको कन्टेनर गाडीमा लुकाईछिपाई ल्याइको लागूऔषध गाँजा ९६ किलो ४ सय ग्रामसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरकाले जानकारी दिएको छ ।
बिशेष सूचनाको आधारमा मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको उक्त कन्टेनरलाई हेटौंडा–११ थानाभर्याङमा रोक्न खोज्दा नरोकी फरार भएको र प्रहरी टोलीले उक्त कन्टेनरको हेटौंडा–१० मेनरोड (भुटनदेवी मोड) बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त कन्टेनर चेकजाँच गर्दा कन्टेनरको केविनमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा लागुऔषध गाँजा ९६ किलो ४ सय ग्राम फेला परेपछि उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्ति, लागुऔषध गाँजा र कन्टेनरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया