कोरोना कहरबीच लकडाउनको विकल्प खोज्न दबाव, क्रमश: खुकुलो बनाउने मनस्थितिमा सरकार
२३ जेष्ठ २०७७, शुक्रबार १७:३४
काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न देशव्यापी रूपमा लकडाउन लागु गरेको १० साताभन्दा बढी भइसकेको छ।
अहिलेकै जस्तो लकडाउन जारी रहे कोरोनाभाइस सङ्क्रमणले भन्दा बेरोजगारी र अभावजस्ता समस्याले धेरैको ज्यान लिन सक्ने भन्दै लकडाउनको विकल्प खोजिनुपर्ने व्यवसायीहरूले माग गर्दै आएका छन्।
चैतको दोस्रो सातादेखि सुरु भएको लकडाउनको शैलीमा केही परिमार्जन गरिएको भए पनि यसलाई जेठ मसान्तसम्म निरन्तरता दिने विचारमा सरकार भएको बताइन्छ। लकडाउनको अवधिमा पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको देखिन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार विज्ञहरूसँग लकडाउनको ढाँचा परिमार्जनसहित विभिन्न विषयमा छलफल गरेका थिए। उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले नेतृत्व गरेको समितिले बुधवार र बिहिवार विज्ञहरूसँग लकडाउनको विकल्पबारे छलफल गरेको थियो।
त्यसपछि उक्त विषयमा मन्त्रिपरिषद्मा छलफल भयो तर कुनै निर्णय भएन। कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले लकडाउन खुकुलो बनाउनेबारे उच्चस्तरीय समन्वयन समितिले सिफारिस गर्ने बताइन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव नारायणप्रसाद बिडारीले अहिलेको अवस्थाभित्र पनि दैनिक जीवनलाई सहज बनाउने कामलाई क्रमशस् खुकुलो बनाउँदै लगिने बताएका छन्।
उनले सबै पक्षसँग छलफल गरी उच्चस्तरीय समितिले मस्यौदा तयार पारेर मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने जानकारी दिए। कोरोनाभाइरस सङ्क्रमणका कारण प्रभावित व्यक्ति र मृतकको सङ्ख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य सङ्कटकाल घोषणा गर्न मन्त्रिपरिषद्लाई प्रस्ताव पठाउने जनाएको छ।-बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया