मौसम: ‘निसर्ग’ चक्रवात कमजोर, भोलिसम्म देशका अधिकांश स्थानमा वर्षा हुने – Nagarikabhiyan : National News

मौसम: ‘निसर्ग’ चक्रवात कमजोर, भोलिसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं । देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ ।

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले शनिबारसम्म वर्षा हुने भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र वाग्मती प्रदेशभरि तथा प्रदेश नं ५ का अधिकांश भूभागमा मध्यम वर्षा भइरहेको छ ।

आज राती प्रदेश २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ को बाँकी भू-भागमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार प्रदेश १, २, वाग्मती, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी, कर्णाली प्रदेश र प्रदेश नं ५ मा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।