किसानलाई १० लाखको कृषि सामग्री वितरण – Nagarikabhiyan : National News

किसानलाई १० लाखको कृषि सामग्री वितरण

काठमाडौंः बन्दाबन्दीको समयमा कृषि क्षेत्रको विकास र विस्तारका लागि चन्द्रागिरि नगरपालिकाले किसानलाई १० लाख मूल्य बराबरको कृषि सामग्री वितरण गरेको छ ।

काठमाडौं उपत्यकाको प्रमुख द्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसका कारण मुलुक बन्दाबन्दी रहेको बेलामा किसानलाई धान र तरकारीको बीउ वितरण गरेको हो ।

नगरपालिकाका कृषि शाखा प्रमुख रामप्रसाद न्यौपानेले चन्द्रागिरिभित्र कृषि क्षेत्रको विकासका लागि किसानलाई धान र तरकारीको बीउवितरण गरेको जानकारी दिए । “धानको बीउ ५० प्रतिशत अनुदान र तरकारीको बीउ निः शुल्क वितरण गरेका छौँ”, उनले भने, “टाइचिन र खुमलटार मन्सुली धान तथा रामतोरिया, मेथी, चम्सुर, सुप, मुला, रायोको साग, धनियाँलगायतका तरकारी बीउ वितरण गरिएको हो ।”

उनले ४ लाख ९९ हजार मूल्य बराबरको तरकारीको बीउ निः शुल्क वितरण गर्नुका साथै ५ लाखभन्दा बढी मूल्यबराबरको धानको बीउ उपलब्ध गराएको जानकारी दिए ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनका अनुसार बन्दाबन्दीको समयमा नगरपालिकाले बीउ खरिद गरेर किसानसम्म पुर्याउँदै आएको छ भने प्रत्येक वडामा ८० किसानलाई धानको बीउ उपलब्ध गराउँदै आएको छ । यसअघि नगरपालिकाले किसानका लागि हाते ट्र्याक्टर, कृषि औजारसमेत वितरण गरिसकेको छ । द नेपालटपबाट