वामपन्थीले प्रयोग गर्ने ‘कार्यकलाप’ शब्दको अर्थ के हो ?
२१ जेष्ठ २०७८, शुक्रबार ११:११
काठमाडौं । दर्शनमा जगतप्रति एउटा विशिष्ट ढंगको मानव सम्बन्ध, जसको प्रक्रियाको क्रममा मानिसले प्रकृतिलाई पुनरुत्पादित गर्दछ तथा त्यसलाई सिर्जनात्मक ढंगले रूपान्तरित गर्दछ। यस प्रकार उसले आफूलाई कार्यकलापको कर्ता तथा प्राकृतिक परिघटनाहरूलाई आफ्नो विषय बनाउँदछ। कार्यकलाप वा श्रमको आधारमै मानिसले आफूलाई पशुजगतबाट माथि उठायो र सम्पूर्ण मानवगुणहरुलाई ऐतिहासिक प्रक्रियाको क्रममा अक्षुण्ण राख्यो तथा विकसित गर्यो।
कार्यकलापमा मानिसले प्रत्येक वस्तुप्रति त्यसको त्यसका प्रकृति र गुणहरुअनुसार दृष्टिकोण अपनाउँदछ, त्यसलाई आफ्ना आवश्यकताहरूअनुसार ढाल्दछ र त्यसलाई आफ्नो गतिविधिको मात्रा तथा आधार बनाउँदछ। साथसाथै प्रकृतिसँग उसको केवल पारस्परिक क्रिया मात्र हुँदैन, बरु उसले त्यसलाई निरन्तर रूपले आफ्नो भौतिक तथा आत्मिक संस्कृतिमा सम्मिलित गरिरहन्छ । बाह्य जगतमा परिवर्तन मानिसको स्वपरिवर्तनको पूर्वाधार तथा सर्त हो।
उत्पादनमा मानिसहरूले सदा आफ्नो पुनरुत्पादन गर्दछन् तथा त्यसभन्दा सर्वथा भिन्न हुन्छन्, जुन उनीहरू यो प्रक्रियालाई आरम्भ गर्ने समयमा हुन्छन्। मार्क्सको शब्दमा उनीहरूले ‘नयाँ शक्तिहरू र नयाँ विचारहरू, सम्बन्धका नयाँ विधिहरू, नयाँ आवश्यकताहरू तथा नयाँ भाषाको रचना गर्दछन्’। यसरी कार्यकलापले एउटा सम्पूर्ण प्रक्रियाको रूपमा सम्बन्धलाई पनि आफूमा सम्मिलित गर्दछ। आफ्नो सारमा कार्यकलाप सत्ताको सामाजिक निरन्तरता हो, जुन एउटा पुस्तापछि अर्को पुस्तालाई प्राप्त भइरहन्छ।
सृजनशीलताको रहस्य कार्यकलापको गतिशीलतामा छ। ऐतिहासिक दृष्टिले त्यसको पहिलो कार्य हो औजारहरूको सहायताबाट औजारहरूको निर्माण। कार्यकलापले मानिसको कार्य गर्ने क्षमताको रूपबाट वस्तुहरूको मूर्तकरणको रूपमा तथा यसको उल्टो प्रक्रियामा निरन्तर गतिले संक्रमण गरिरहन्छ। इतिहासका नियम अन्ततः कार्यकलापका नियम हुन्, यद्यपि वर्गीय समाजमा श्रम विभाजन र त्यसको अन्य संक्रमणको अवस्थामा तिनीहरूले मानौं मानिसहरूको आचरणलाई उनीहरूमाथि बाहिरी शक्तिहरूको प्रभुत्वको रूपमा जस्तै शासित गर्दछन्।
सैद्धान्तिक कार्यकलाप तथा त्यसै गरी कुनै वस्तुको वास्तविक रूपान्तरणका भौतिक र प्राविधिक प्रक्रिया-यी दुवै सम्पूर्ण कार्यकलापको एउटा यस्तो प्रणालीको रूपमा केवल सापेक्षिक रूपले मात्र स्वतन्त्र तत्त्व हुन्, जसमा भौतिक रूपान्तरणको प्रक्रियाले वैचारिक रूपान्तरणलाई निर्धारित गर्दछ। यस क्रममा सैद्धान्तिक कार्यकलाप सामाजिक-सिर्जनात्मक प्रक्रिया हो, जुन मानव जातिको संस्कृतिलाई परिवर्तित गर्नतिर लक्षित छ। तर श्रम विभाजनका अवस्थाहरूमा भ्रम उत्पन्न हुन्छन्, मानौं विशुद्ध व्यावहारिक र विशुद्ध सैद्धान्तिक कार्यहरू स्वयं कार्यकलाप नै हुन्।
केवल साम्यवादअन्तर्गत मात्र कार्यकलाप प्रत्येकको लागि सम्पूर्ण स्वकार्यकलाप बन्दछ, जीवनको उद्देश्य तथा त्यसका आवश्यकताको रूपमा अगाडि आउँदछ। बहुरूपी कार्यकलाप- यो दार्शनिक प्रवर्गको सम्पूर्ण सामाजिक विज्ञानहरूको लागि, विशेषगरी समाजशास्त्र, मनोविज्ञान, शिक्षाशास्त्र, आदिको लागि विचारधारा र अध्ययनको विधि दुवै दृष्टिले ठूलो महत्त्व छ।
२. मनोविज्ञानमा कार्यकलाप एउटा यस्तो अवधारणा हो, जसले व्यक्तिको कार्यलाई परिवेशसँग उसको पारस्परिक प्रभावको प्रक्रियामा अभिव्यक्त गर्दछ। मनोगत कार्यकलाप परिवेशसँग प्राणीको विशिष्ट सम्बन्ध हो, जसले शरीर तथा पर्यावरणको बिचका पारस्परिक सम्बन्धहरूमा मध्यस्थको काम गर्दछ, तिनीहरूलाई नियमित तथा नियन्त्रित गर्दछ। मनोगत कार्यकलाप आवश्यकताद्वारा उत्प्रेरित हुन्छ, त्यसको पूर्ति गर्ने वस्तुतिर लक्षित हुन्छ तथा कार्यहरूको प्रणालीबाट उत्पन्न हुन्छ, त्यसले यो कुराको पूर्वकल्पना गर्दछ कि प्राणीसँग मन हुन्छ, तर यसको साथसाथै त्यो मनको उत्पत्तिको आधारभूत सर्त तथा त्यसको विकासको प्रेरक शक्ति पनि हो।
मनोगत कार्यकलापको प्राथमिक रुपलाई त्यसको उच्चतम रूपबाट अलग गर्नुपर्दछ। पहिलो रूप पशुहरूको विशेषता हो र त्यो प्राणीको आफ्नो परिवेशसँग सहजवृत्तिमूलक अनुकूलनमा निहित हुन्छ। दोस्रो रूप, जुन पहिलोबाट उत्पन्न हुन्छ र त्यसलाई रूपान्तरित गर्दछ, मानिसको अनन्य सम्पदा हो। यो कार्यकलापको उच्चतम रूपको विशिष्ट विशेषता परिवेशको सचेत रूपान्तरण हो। मानिसको कार्यकलाप सामाजिक चरित्रले युक्त हुन्छ र त्यो जीवनका सामाजिक अवस्थाहरूबाट निर्धारित हुन्छ। मानिसको मानसिक कार्यकलाप बाह्य वा आन्तरिक हुन सक्दछ। पहिलोको रचना वास्तविक वस्तुहरूसँग ती विशिष्ट रूपले मानव-कार्यहरूबाट हुन्छ, जसलाई हात, औंला र खुट्टाको गतिद्वारा सम्पन्न गरिन्छ।
दोस्रो कार्यकलाप मस्तिष्कका कार्यहरूको माध्यमबाट अग्रसर हुन्छ, जसमा मानिसले वास्तविक वस्तुहरूको सञ्चालन गर्दैन र यस्तो वास्तविक गतिको माध्यमबाट गर्दैन, बरु यसको लागि मस्तिष्कमा तिनीहरूका गतिशील विम्बहरूको उपयोग गर्दछ। आन्तरिक कार्यकलापले बाह्य कार्यकलापको नियोजन गर्दछ। त्यो बाह्य कार्यकलापको आधारमा उत्पन्न हुन्छ तथा त्यसको माध्यमबाट मूर्त रूप ग्रहण गर्दछ।
श्रम विभाजनले मानिसको कार्यकलापका सैद्धान्तिक र व्यावहारिक रूपहरूको बिचमा विभाजनलाई जन्म दिन्छ। मानिस र समाजका विविधतापूर्ण आवश्यकताहरूअनुसार कार्यकलापका विविधतापूर्ण ठोस प्रकारहरू उत्पन्न हुन्छन्, जसमध्ये हरेकले बाह्य तथा आन्तरिक, व्यावहारिक तथा सैद्धान्तिक कार्यकलापका तत्वहरुलाई आम रूपमा आफूमा सामेल गर्दछ।
लोकपाटी न्यूज बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया